चुनावको औचित्य
कोरोना महामारीले स्वास्थ्य संकटसँगै निम्त्याएको अर्को ठूलो समस्या हो, बेरोजगारी । कोरोना कहर विश्वभरि नै फैलिएको छ । अहिले दोस्रो लहरले भयभित बनाएको छ । कोही संक्रमित भएर भयभीत छन्, कोही आर्थिक समस्याले आउन सक्ने भोकमरीलगायत समस्याले त्रसित छन् । अनियन्त्रित बनेको कोरोनाका कारणले गर्दा एकातिर रोजगारी खुम्चिँदै गएको छ भने अर्कातिर अर्थतन्त्र धराशायी बनेको छ । यसबीचमा धेरैले रोजगारी गुमाए । खासगरेर निजी क्षेत्रमा काम गर्नेहरू बेरोजगार बने । व्यवसायमा लगानी गरेकाहरू स्वयम् यो समस्याबाट पीडित छन् । निषेधाज्ञाका कारण बन्द रहेका संस्थाहरूले कर्मचारीलाई पारिश्रमिक नदिएको अवस्था छ । यी यावत समस्याका कारण बेरोजगारी यतिबेला ठूलो चुनौती बनेको छ ।
एकातर्फ कोभिडको कहर छँदैथियो अर्कोतर्फ राजनीतिक अस्थिरताको चपेटामा मुलुक पिल्सिएको छ । अर्थतन्त्रमा यसको असर अझ बढी देखिन्छ । आर्थिक तथा औद्योगिक गतिविधि ठप्प छन् । सहज ढङ्गले रोजगारी उपलब्ध गराउने आर्थिक गतिविधि सञ्चालन हुन सकिरहेको छैन । मुलुक औद्योगिक विकासमा झनझन् कमजोर हुँदै गएको छ । औद्योगिक क्षेत्रको सञ्चालनविना अधिकांश काम गर्ने उमेर समूहका अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकहरू रोजगारीको पहुँचमा हुँदैनन् । कुनै पनि देशमा बेरोजगारी दर बढ्नु गलत आर्थिक नीतिको प्रतिफल हो । मुलुकमा लामो समयदेखि आर्थिक क्रियाकलापमा सुस्तता आएको छ । तसर्थ सरकारले आफ्नो विकास बजेटसमेत राम्रोसँग खर्च गर्न सकेको स्थिति पनि छैन । नेपालीहरूले विदेश या स्वदेशबाट कमाएको पैसाबाट बचत भएको रकम अनुत्पादक क्षेत्रमा खर्च गर्ने क्रम बढ्दो छ । यसमा खासगरीकन घरजग्गा खरिद र उपभोग्य वस्तुमा बढी खर्च गर्ने, बचत कम गर्ने तथा उद्योगधन्दामा कम लगानी गर्नाले पनि रोजगारी सिर्जना हुन सकेको छैन ।
विगतका वर्षहरूलाई अध्ययन गर्ने हो भने बेरोजगारीको संख्या अत्यधिक बढेको छ । मुलुकको बेरोजगारी दर बढेर अहिले ११.४ प्रतिशत पुगेको छ । यसलाई केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण–२०१९ अनुसार पुगेको घोषणा गरेको थियो । नेपाल सरकारको तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षणअनुसार अहिले मुलुकमा ९ लाख ८ हजार नेपाली बेरोजगार छन् । कोभिड–१९ का कारण रोजगारी गुमाउने धेरै छन् र यो संख्या थपिने देखिएको छ । तथ्यांकले बेरोजगारीको भयावह अवस्था दर्शाउँछ । तर यसलाई सम्बोधन गर्नेतर्फ राज्यको ध्यान पुगेको छैन । प्राथमिकतामा पर्नुपर्ने र तत्काल समाधान गरिनुपर्ने सबै समस्या थाति राखेर राजनीतिक नेतृत्व भने सत्तास्वार्थमा लागिरहेको छ । यसबीच कार्यकाल नसकिदै प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरिएको छ । यसको औचित्य पुष्टि हुन सकेको छैन । एकातर्फ कोरोना महामारीको संकटले आक्रान्त बनाइरहेको छ भने अर्कोतर्फ बेरोजगारीका कारण नागरिक थप समस्यामा परिरहेको बेला घोषणा गरिएको चुनाव राजनीतिक स्वार्थपूर्तिको चालबाहेक अरु केही होइन । यो चुनाव गराउने समय वा परिस्थिति होइन । त्यसबाहेकका यावत समस्या समाधानमा सबै एकजुट हुनुपर्ने बेला हो ।
प्रकाशित मितिः ११ जेष्ठ २०७८, मंगलवार ०५:००
साझा बिसौनी ।