कोरोना संक्रमण: सहरमा घट्दै, गाउँमा बढ्दै

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर सहरी क्षेत्रमा घट्दै गए पनि ग्रामीण भेगमा भने बढ्न थालेको छ । पछिल्ला दिनहरूमा सहरी तथा बजार क्षेत्रमा तुलनात्मक रूपमा संक्रमण केही कम भएको देखिएको छ । निषेधाज्ञा र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना भएका ठाउँमा संक्रमण नियन्त्रणउन्मुख भएको चिकित्सकहरूले बताएका छन् । कर्णाली प्रदेशमा वैशाख पहिलो सातादेखि दोस्रो लहरको संक्रमण फैलिन थालेको थियो । वैशाख मसान्तसम्म अत्यधिक संक्रमित पुष्टि हुने गरेकोमा त्यसयता विस्तारै संक्रमणदर घट्दै गएको देखिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले राखेको संक्रमितहरूको दैनिक तथ्याङ्क केलाउँदा जेठ महिना लागेयता ग्रामीण क्षेत्रमा भने संक्रमण बढ्दो क्रममा देखिन्छ ।

जेठ महिनामा कोरोना संक्रमणदर केही मात्रामा घटे पनि जोखिम भने घटेको छैन । सुरूको चरणमा सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण अहिले ग्रामीण क्षेत्रमा देखिएको हो । जेठ १ गतेदेखि १० गतेसम्म प्रदेशभर पाँच हजार सात सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १ गते ६ सय १८ जनामा संक्रमण देखिएकोमा २ गते चार सय २७ जनामा संक्रमण पुष्टि भएको थियो । ३ गते संक्रमितको संख्या बढेर ६ सय ६७ पुग्यो । त्यस्तै, ४ गते पाँच सय ८७ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार जेठ ५ गते ६ सय ७९, ६ गते पाँच सय ५५, ७ गते सात सय ९५, ८ गते चार सय ७९ र ९ गते दुई सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । १० गते ‐सोमवार) ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशभर दैनिक पुष्टि हुने कुल संक्रमितको संख्यामा खासै फरक नदेखिए पनि पछिल्लो समय गाउँमा संक्रमित बढी भेटिन थालेका छन् । कोरोना संक्रमण रोकथामका लागि वैशाख दोस्रो सातादेखि कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सदरमुकाम र बजार क्षेत्रमा यसको पालना भए पनि ग्रामीण क्षेत्रमा भने बेवास्ता गरिएको छ । जसका कारण निषेधाज्ञामा पनि गाउँमा संक्रमण बढ्दोक्रममा देखिएको हो ।

कर्णालीमा कोरोनाको सबैभन्दा उच्च जोखिममा रहेको जिल्ला सुर्खेत हो । यहाँ संक्रमणको दर विस्तारै घट्दोक्रममा देखिएको जनस्वाथ्यकर्मीहरूले बताएका छन् । जेठ महिना यता मात्र सुर्खेतमा तीन हजार आठ सय ७३ जनामा कोरोना पुष्टि भएको छ । जेठ १ गते तीन सय ९१, २ गते आठ सय ८७, ३ गते दुई सय ९८ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य सेवा कार्यालयका अनुसार ४ गते तीन सय ५९, ५ गते चार सय ६, ६ गते तीन सय एक, ७ गते तीन सय ५१ जना संक्रमित भेटिएका थिए । यस्तै, जेठ ८ गते चार सय ५९, ९ गते ९६ र १० गते तीन सय २५ जनामा संक्रमण देखिएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले वीरेन्द्रनगर लगायतका सहरी क्षेत्रमा संक्रमण घट्ने संकेत देखिए पनि जोखिम भने उस्तै रहेको बताए । ‘तुलनात्मक रूपमा सहरी एरियामा संक्रमण केही घटेको जस्तो संकेत देखिएको छ । पछिल्ला दिनमा ग्रामीण भेगमा भने संक्रमण बढ्दो क्रममा छ,’ उनले भने । उनका अनुसार निषेधाज्ञाको पूर्णपालना भएका क्षेत्रहरूमा संक्रमण घटेको पाइएको हो । अझै पनि जोखिम नटरेकोले निषेधाज्ञालाई निरन्तरता दिनुपर्ने उनले सुझाए । वाग्ले भन्छन्, ‘अहिलेकै अवस्थामा लापरवाही गर्ने हो भने संक्रमण नियन्त्रणमा आउनुको साटो झनै बढ्छ ।’ संक्रमणको ‘चेन ब्रेक’ गर्न निषेधाज्ञाको पूर्णपालना र स्वास्थ्य सुरक्षाका उपाय अपनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।

एक सातायता अस्पतालमा भर्ना हुने सिकिस्त संक्रमितको संख्यामा पनि केही कमी आएको छ । कोरोना संक्रमितको उपचार गरिँदै आएको प्रदेश अस्पतालमा आइतवार साँझसम्म ५७ जनाको उपचार भइरहेको छ । एक साता अघिसम्म यहाँ आइसोलेसन वार्ड, आईसीयू तथा भेन्टिलेटरमा गरी एक सयको हाराहारीमा कोरोना संक्रमित उपचाररत थिए । अहिले उपचारका लागि आउने संक्रमितको संख्या घटेको हो । अस्पतालका कोरोना नियन्त्रण फोकल पर्सन डा. सञ्जिव भण्डारीले सिकिस्त संक्रमितको सख्यामा कमी आएको बताए । डा. भण्डारीका अनुसार गएको वैशाख तेस्रो साता प्रदेश अस्पतालमा एक सय कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना भएका थिए । अन्य अस्पतालहरूमा पनि संक्रमितको उपचार गर्न थालिएपछि प्रदेश अस्पताललाई उपचार व्यवस्थापनमा सहज हुँदै गएको उनी बताउँछन् । ‘जोखिम उस्तै छ । तर, बिरामी भर्ना र संक्रमण पुष्टिको दर हेर्दा आशा पलाएको छ,’ उनले भने । सुरूको चरणमा सबैले प्रदेश अस्पताल नै ताकेर उपचार गर्न आउने गरेकाले अस्पताल प्रशासनलाई व्यवस्थापनमा हम्मेहम्मे परेको थियो । हाल थुप्रै स्थानीय स्वास्थ्य संस्थाहरूमा कोरोना संक्रमितको उपचार हुने गरेको छ । जसले गर्दा पनि प्रदेश अस्पतालमा बिरामीको चाप घटेको छ । प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले निषेधाज्ञामा नागरिकहरू अनुशासनमा बाँधिएकोले संक्रमण केही नियन्त्रणमा आएजस्तो देखिएको बताए । ‘निषेधाज्ञा अझै केही समय आवश्यक छ,’ उनले भने ‘संक्रमणको ‘चेन ब्रेक’ भइसकेको छैन ।’ खड्काले यही बेला लापरवाही गरे अवस्था भयावह हुनसक्ने औंल्याए । उनका अनुसार संक्रमणदर केही कम देखिए पनि अपेक्षाकृत रूपमा नियन्त्रणमा आएको छैन । ग्रामीण क्षेत्रमा भारत लगायत नेपालकै विभिन्न सहरहरूबाट फर्कनेहरूको संख्या ठूलो छ । उनीहरू सिधै गाउँ जाँदा संक्रमणको जोखिम झन् बढेको छ । अहिले अधिकांश गाउँमा घरैपिच्छे बिरामी पर्न थालेका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण भए पनि उनीहरूको परीक्षण भने हुन सकेको छैन ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७८, मंगलवार ०५:००