अक्सिजन आपूर्तिको माग राखेर धर्ना

कर्णाली प्रदेशका अस्पतालहरूमा मेडिकल अक्सिजनको अभाव भएपछि आपूर्तिका लागि दबाब दिन युवाहरूको समूहले धर्ना दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि सोमवार युवाहरूको समूहले धर्ना दिएको हो । अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्न माग गर्दै युवाको समूह मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका हुन् ।

अहिले कोरोना संक्रमितको उपचारको लागि मुख्य समस्या अक्सिजनको रहेको र त्यसतर्फ सरकार जिम्मेवार नबनेको उनीहरूले बताएका छन् । मोटे ग्याङ नेपालको संयोजनमा भएको धर्ना कार्यक्रममा सरकारले तत्काल दैनिक दुई सय ५० वटा सिलिण्डर अक्सिजन व्यवस्थापन गर्न माग गरिएको छ । मोटे ग्याङका सदस्य अनिल ढकालले अक्सिजन व्यवस्थापनमा प्रदेश सरकारको लापरवाही देखिए पछि दबाब स्वरूप धर्ना दिएको बताए । ‘अहिले नेपालगञ्जबाट सहजै रूपमा अक्सिजन भरेर ल्याउन सकिन्छ । तर, यहाँ अक्सिजन सिलिण्डरको समेत कमी देखियो । यसमा सरकारको ध्यानाकर्षण गर्न धर्ना दिएका हौं,’ ढकालले भने । सरकारको ध्यान स्वास्थ्य सामग्री र औषधी उपचारमा केन्द्रित हुनुपर्नेमा त्यसतर्फ गम्भीर नबनेको उनको आरोप छ ।

युवाहरूको समूहले यस विषयमा सोमवार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग अक्सिजन व्यवस्थापनका लागि सरकार र स्वयम्सेवक समूहले संयुक्त प्रयास गर्ने समझदारी भएको बताएको छ । ‘धर्नासँगै मुख्यमन्त्रीसँग पनि हाम्रो छलफल भयो,’ ढकालले भने, ‘मन्त्रिपरिषद्को बैठक पनि बस्दै रहेछ । केही निर्णय होला । अब व्यवस्थापनमा सहज हुन्छ भन्ने अपेक्षा लिएका छौं ।’ उनले बाहिर जिल्लाका मानिसहरू सुर्खेतका उपचारको क्रममा मृत्यु हुँदा शव व्यवस्थापनमा समस्या देखिएकाले यसबारे पनि मुख्यमन्त्रीलाई जानकारी गराएको बताए ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७८, मंगलवार ०५:०१