समुदायमा खटिए चिकित्सक

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि नियन्त्रण तथा उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले गाउँ–गाउँमा चिकित्सक पठाएको छ । प्रतिष्ठानले स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा चिकित्सक खटाएको हो । चिकित्सकहरू घरदैलोमै पुगेपछि संक्रमितहरू उत्साही बनेका छन् । घरमै आएर डाक्टरले उपचार गर्न थालेपछि आफूहरूलाई निकै सहज भएको कनकासुन्दरीका एक संक्रमितले बताए । जुम्लामा झण्डै दुई सातादेखि कडा निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाका कारण सदरमुकाम सुनसान बने पनि ग्रामीण क्षेत्रमा भने गहुँ–जौ भिœयाउने र धानको ब्याड राख्ने चटारो छ । जसका कारण गाउँमा पनि कोरोना संक्रमणको जोखिम बढेको तातोपानीका एक संक्रमितले बताए । ‘गाउँमै चिकित्सक पुगेपछि मनोबल बढेको छ,’ उनले भने, ‘जटिल समस्या आए के गर्ने भन्ने उपाय पनि सिकेका छौं ।’

कडा खालको लक्षण देखिएका र अक्सिजन दिनुपर्ने संक्रमितलाई प्रतिष्ठानको शिक्षण अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको छ । प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईका अनुसार सबैखाले बिरामी एकै ठाउँमा केन्द्रित गर्दा उपचार लागि व्यवस्थापन गर्न कठिन हुने देखिएकाले थप संक्रमण फैलन नदिन गाउँमा चिकित्सकको टोली खटाइएको हो । उनले कनकासुन्दरीमा विशेषज्ञ डाक्टर कमल थानी, सिंजामा सुजाता ओझा, तातोपानीमा डा. कमल न्यौपाने र पातारासीमा सुनिल बुढाथोकी खटिएको बताए । त्यस्तै, हिमामा मोनिका लामा र गुठीचौरमा निर्मला पहाडीको टोली
खटाइएको छ ।

समुदायमा पठाइएको स्वास्थ्यकर्मीको टोलीले अन्य बिरामीको पनि उपचार गर्ने प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजव शाहले बताए । उनका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीले कोरोनाबाट बच्ने उपायबारे पनि स्थानीयलाई सचेतना दिनेछन् । प्रतिष्ठानले बाँकेमा डा. प्रवीण गिरीको नेतृत्वमा ६ जना चिकित्सकको टोली पनि खटाएको छ । प्रतिष्ठानले कर्णालीका अन्य जिल्लामा पनि विशेषज्ञ चिकित्सक खटाएको जनाएको छ । प्रतिष्ठानका अनुसार विशेषज्ञ डा. सिद्धार्थध्वज खाती र डा. रेखा कार्की मुगु,
डा. रिविन खुपाङ र डा. बुबी बस्न्यात कालिकोटमा खटिएका छन् भने हुम्लामा डा. मानिक न्यौपाने र राजबहादुर खत्रीलाई पठाइएको छ । जुम्लामा तीन सय बढीमा कोराना संक्रमण पुष्टि भएको छ, जसमध्ये हाल २२ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । एक सय ८२ जना संक्रमितको स्थानीय तहले बनाएको आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः   ११ जेष्ठ २०७८, मंगलवार ०५:०२