कोरोना प्रतिकार्यमा वीरेन्द्रनगर

वीरेन्द्रनगर अहिले कोरोना भाइरस ‐कोभिड–१९) को ‘रेड जोन’मा छ । देशभरका संक्रमण तीव्र हुने स्थानमध्ये वीरेन्द्रनगर पनि एक हो । यहाँ दैनिक ठूलो संख्यामा संक्रमितहरू थपिने क्रम जारी छ । सोमवारसम्म वीरेन्द्रनगरमा एक हजार नौ सय २२ जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये वैशाखयता मात्र नगरका १५ जनाको मृत्यु भएको छ ।

कोरोनाको दोस्रो लहर आएसँगै प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरलाई संक्रमणले गाँजेको हो । संक्रमणको ‘हटस्पट’ बनिरहेका बेला कोरोना प्रतिकार्यमा स्वास्थ्य पूर्वाधार, उपचार र संक्रमितको परामर्शका लागि थुप्रै प्रयासहरू पनि थालिएको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि वीरेन्द्रनगर नगरपालिका संक्रमण न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापननका लागि जुटेको छ । कोभिड व्यवस्थापन र उपचारका लागि आवश्यक स्रोत–साधनको प्रबन्ध मिलाइरहेको नगरपालिकाले जनाएको छ ।

अहिले वीरेन्द्रनगरमा प्रदेश अस्पताल, प्रदेश आयुर्वेद औषधालय, कटकुवा स्वास्थ्यचौकी र लाटीकोइली स्वास्थ्यचौकीमा रहेका आइसोलेसनहरूमा संक्रमितको उपचार भइरहेको छ । प्रदेश अस्पतालको कोभिड वार्डमा सोमवारसम्म ७५ जना संक्रमितको उपचार भइरहेको छ । प्रदेश अस्पतालमा कोभिड संक्रमितका लागि एक सय वटा बेड छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालमा अक्सिजनसहित एक सय जनाको उपचार गर्ने गरी आइसोलेसन बेडको व्यवस्थापन गरिएको हो । कटकुवा कोभिड अस्पतालमा २५ बेड व्यवस्थापन गरिएको छ । त्यहाँ २४ जना संक्रमित उपचाररत छन् । यस्तै, लाटीकोइली स्वास्थ्यचौकीमा पाँच वटा आइसोलेसन बेड रहेकोमा दुई जना उपचाररत छन् । अहिले अस्पतालहरूले जटिल समस्या देखिएका संक्रमितको मात्र उपचार गरिरहेका छन् । सामान्य स्वास्थ्य समस्या देखिएका बिरामीहरू अधिकांश होम आइसोलेसनमै छन् ।

यस्तै, प्रदेश आयुर्वेद औषधालय सुर्खेतले पनि १५ बेडको आइसोलेसन तयार गरेको छ । औषधालय प्रमुख डा. शंकर रिजालले अक्सिजनसहितका आइसोलेसन बेड तयारी पारिएको बताए । उनका अनुसार त्यहाँ अहिले पाँच जना संक्रमितको उपचार भइरहेको छ । उक्त आइसोलेसन सेन्टरमा डाक्टरसहित १२ जना स्वास्थ्यकर्मीहरूको टोली आठ घण्टाको आलो पालो अनुसार उपचारमा खटिने गरेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाले संक्रमितलाई अस्पताल पु¥याउन तीन वटा एम्बुलेन्सको प्रबन्ध गरेको छ । दुई वटा एम्बुलेन्स दिउँसोको र एउटा रातीको समयमा सञ्चालन गर्ने गरिएको छ । बिहान सात बजेदेखि साँझ सात बजेसम्म जनस्वास्थ्य सेवा कार्यालयको र नगरपालिकाको एक÷एक वटा एम्बुलेन्सले सेवा दिने गरिएको हो भने रातीको समयमा जनस्वास्थ्य कार्यालयको थप एउटा एम्बुलेन्स सेवा दिइरहेको छ । कोरोना संक्रमित बिरामीका लागि एम्बुलेन्स आवश्यक परेमा कटकुवा कोभिड अस्पतालमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

कटकुवा कोभिड अस्पतालमा रहेको ०८३–५२४४०३ वा ९८५८३२०००४ नम्बरमा फोन गरेर एम्बुलेन्स सेवा लिन सकिने छ । वीरेन्द्रनगर रहेका सक्रिय संक्रमितमध्ये झण्डै ९० प्रतिशत होम–आइसोलेसनमा रहेका छन् । उनीहरूको स्वास्थ्य परामर्शका लागि नगरपालिकाले चिकित्सक सहितको ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको छ । होम आइसोलेसनमा रहेका संक्रमितलाई अप्ठेरो परेको खण्डमा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न सूचित गरिएको छ । त्यसका लागि नगरपालिकाले प्रत्येक वडामा कार्यरत स्वास्थ्य संस्थाका प्रमुखलाई वडामा रहेका संक्रमितलाई परामर्श तथा अन्य समस्या समाधानका लागि सहयोग गर्न जिम्मेवारी तोकेको छ । नगरपालिकाले कोभिडले निम्ताएको समस्या सुन्न र समाधानका लागि ‘हेल्प डेक्स’ समेत सुरू गरेको हो । कोभिड संक्रमितले परामर्श लिनका लागि ०८३–५२४४०३ मा सम्पर्क गर्न सक्ने छन् ।

नगरप्रमुख देवकुमार सुवेदीले कोभिड प्रतिकार्यमा नगरपालिका प्राथमिकताका साथ लागिरहेको बताए । कोभिड नियन्त्रण, परीक्षण र उपचारजस्ता सवालमा आफूहरू निकै गम्भीर भएर जुटिरहेको उनी बताउँछन् । नगरपालिकाले हप्तामा तीन दिन आरटी–पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै आएको छ । सोमवार, बुधवार र शुक्रवार बिहान स्वाब संकलन गर्ने गरिएको हो । पालिकाले कोभिड संक्रमणका कारण मृत्यु हुनेको शव व्यवस्थापनका लागि एउटा शववाहन व्यवस्थापन गरेको छ ।

प्रकाशित मितिः   २८ बैशाख २०७८, मंगलवार ०५:००