मध्यपश्चिममा ७५ प्रतिशतले खाए हात्तीपाइलेको औषधि

साझा बिसौनी संवाददाता
सुर्खेत, २ चैत ।
मध्यपश्चिममा केवल ७५ प्रतिशत जनताले मात्र हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेका छन् । यस क्षेत्रका विभिन्न नौ जिल्लामा एकैसाथ सञ्चालन भएको अभियानका क्रममा यो वर्ष ७५ प्रतिशतले मात्र हात्तीपाइलेविरुद्धको औषधि सेवन गरेको मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ । अहिले पनि औषधिको बारेमा गलत भ्रम र त्रास कायमै रहेका कारण बाँकी २५ प्रतिशतले औषधि खान नमानेको निर्देशनालयको भनाइ छ ।
फागुन २९ गतेदेखि तीन दिनसम्म स्वास्थ्यकर्मी र स्वयम्सेवकहरूले सर्वसाधारणहरूलाई हात्तीपाइलेको औषधि खुवाएका थिए । तीन दिनसम्म सञ्चालन भएको अभियानमा यो क्षेत्रका नौ जिल्लाका ७५ प्रतिशत नागरिकले मात्र औषधि खाएको तथ्याङ्क आएको हो । बाँकी २५ प्रतिशतलाई यो औषधि खुवाउन नसकिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार तराईका बाँके, बर्दिया र दाङमा औषधि बारेमा भ्रम भएका कारण धेरैलाई खुवाउन नसकिएको हो । पहाडी जिल्लामा भने गत वर्षको तुलनामा यसपाली धेरैले यो औषधि सेवन गरेका छन् ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयका महामारी नियन्त्रण शाखाका फोकल पर्सन श्यामलाल आचार्यले सबैभन्दा बढी जाजरकोटमा ८३ प्रतिशतले यो औषधि खाएको बताए । उनका अनुसार सुर्खेतमा ७७ प्रतिशतले यो औषधि खाएका छन् । यस्तै सल्यान, बर्दिया र दैलेखमा ८० प्रतिशतले हात्तीपाइलेको औषधि खाएको उनले जानकारी दिए । रोल्पामा भने ७६ प्रतिशतले मात्र औषधि खाएको उनको भनाइ छ । बाँके, दाङ र रुकुमबाट भने अन्तिम विवरण प्राप्त भइ नसकेको भए पनि ७५ प्रतिशतले औषधि खाएको प्रारम्भिक अनुमान निर्देशनालयले गरेको छ । यो वर्ष मध्यपश्चिमका विभिन्न नौ जिल्लाका करिब २९ लाख ८२ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य रहेको थियो । तर औषधिको बारेमा रहेको भ्रम र अनावश्यक त्रासका कारण लक्षितमध्ये २५ प्रतिशतले भने औषधि सेवन गर्न नमानेको आचार्यले बताए । उनले भने, ‘बाँके र बर्दियामा बढी चुनौती देखियो, ती जिल्लामा गलत भ्रम र त्रासका कारण अधिकांशले औषधि खान मानेनन् ।’ निर्देशनालयका अनुसार अघिल्लो वर्ष यो क्षेत्रमा ७० प्रतिशतले यो औषधि सेवन गरेका थिए ।
अघिल्लो वर्षको तुलनामा यसपाली बढीले औषधि खाएको भए पनि तराइका जिल्ला र सहरी क्षेत्रमा भने केही समस्या भएको निमित्त क्षेत्रीय स्वास्थ्य निर्देशक खेमराज उपाध्यायले बताए । उनका अनुसार ग्रामीण क्षेत्रमा भने शतप्रतिशतले औषधि खाएका छन् । यस्तै औषधि सेवन गरेपछि विभिन्न जिल्लामा गरी १९ जनामा सामान्य असर देखा परेको निर्देशनालयले जनाएको छ । यस क्षेत्रका विभिन्न जिल्लामा अहिले करिब तीन हजार व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको छ । भेरी र राप्ती अञ्चलका विभिन्न जिल्लामा गरी दुई हजार आठ सय ४८ जनामा हात्तीपाइलेको संक्रमण देखिएको छ ।
 
प्रकाशित मितिः   ३ चैत्र २०७२, बुधबार ११:५०