कर्णालीमा थपिए ९३ हजार मतदाता

कर्णाली प्रदेशमा चार वर्षमा ९३ हजार मतदाता थपिएका छन् । प्रदेशमा २०७७ पुस ५ गतेसम्म मतदाताको संख्या नौ लाख आठ हजार ६ सय ३१ पुगेको छ । निर्वाचन आयोगका अनुसार तीमध्ये महिला मतदाताको संख्या चार लाख ४९ हजार ३० छ भने पुरुषको संख्या चार लाख ५९ हजार ६ सय एक रहेको छ । २०७४ सालको निर्वाचनमा कर्णालीमा आठ लाख १४ हजार आठ सय ४६ मतदाता थिए । पछिल्ला झण्डै चार वर्षको अवधिमा कर्णालीमा ९३ हजार पाँच सय ८७ मतदाता थपिएका हुन् । यो संख्या पुस ५ गतेसम्म नामावली दर्ता भएका मतदाताको अद्यावधिक विवरण हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी २०७८ वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको थियो ।

संसद् विघटनको विषय अदालतमा विचाराधीन रहेकै बेला दोधारकाबीच निर्वाचन आयोगले भने आफ्नो तयारी अघि बढाएको थियो । संसद् विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला गरिसकेको छ । विघटित प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनस्र्थापना गरेको हो ।

गएको निर्वाचनयता कर्णालीका सबै जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा बढेको छ । २०७४ सालको निर्वाचमा सुुर्खेतमा दुई लाख चार हजार पाँच सय ७७ मतदाता थिए । हाल यहाँ १३ हजार चार सय ६६ मतदाता थपिएका छन् । सुर्खेतमा मतदाताको संख्या दुई लाख १८ हजार ४३ पुगेको हो  । यसअघि दैलेखमा एक लाख ३४ हजार नौ सय ६ जना मतदाता रहेकोमा त्यो संख्या बढेर एक लाख ४८ हजार सात सय २७ पुगेको छ । दैलेखमा १३ हजार आठ सय २१ मतदाता थपिएका हुन् ।

कर्णाली प्रदेशको अर्को जिल्ला सल्यानमा गएको निर्वाचनमा एक लाख २६ हजार नौ सय मतदाता थिए । अहिले १३ हजार सात सय ६८ मतदाता थपिएर एक लाख ४० हजार ६ सय ६७ पुुगेका छन् । यस्तै रुकुम–पश्चिममा ७८ हजार मतदाता रहेकोमा हाल १४ हजार तीन सय ४७ मतदाता थपिएर ९२ हजार तीन सय ४७ पुुगेको निर्वाचन आयोगले जनाएको छ । जाजरकोटमा मतदाताको संख्या ९४ हजार आठ सय ७५ पुगेको छ । यहाँ स्थानीय तहको निर्वाचनमा ८० हजार दुई जना मतदाता थिए । त्यसयता जिल्लामा १४ हजार आठ सय ७३ मतदाता थपिएका छन् ।

कालीकोटमा ६ हजार मतदाता थपिएको आयोगले जनाएको छ । यसअघिको निर्वाचनमा ६५ हजार तीन सय ३९ मतदाता रहेको कालीकोटमा अहिले मतदाताको संख्या ७२ हजार ८० पुगेको हो । अघिल्लो निर्वाचनमा जुम्लामा ५५ हजार पाँच सय ४१ मतदाता थिए । ६ हजार ९४ मतदाता थपिएर जुम्लामा मतदाताको संख्या ६१ हजार ६ सय ३५ पुगेको छ ।

हुम्लामा तीन हजार सात सय ९३ मतदाता थपिएका छन् । उक्त जिल्लामा मतदाताको संख्या २८ हजार पाँच सय ४२ पुगेको छ । स्थानीय तहको निर्वाचनमा हुुम्लामा २४ हजार सात सय ४९ मतदाता थिए । डोल्पामा १६ हजार आठ सय ६५ मतदाता थिए । अहिले तीन हजार दुई सय ११ मतदाता थपिएका हुन् । कर्णालीको हिमाली जिल्ला मुगुमा पनि यसअघि २७ हजार नौ सय १३ मतदाता रहेकोमा तीन हजार पाँच सय १८ थपिएर ३१ हजार चार सय ३१ मतदाता पुगेका छन् ।

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता रहेका छन् । १८ वर्ष पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्ने व्यवस्था छ । सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा गरेपछि स्थगित भएको मतदाता नामावली संकलनको काम चैत ५ गतेदेखि पुनः सञ्चालन भएको निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावली संकलन तथा अद्यावधिकको काम जिल्ला निर्वाचन कार्यालयबाट हुँदै आएको छ ।

तेस्रो लिङ्गी मतदाता दुई जना

कर्णाली प्रदेशमा तेस्रो लिङ्गी दुई जनाले मात्र मतदाता नामावली बनाएका छन् । निर्वाचन आयोगका अनुसार जाजरकोट र रुकुम–पश्चिममा एक÷एक जना तेस्रो लिङ्गी मतदाता रहेका छन् । प्रदेशका अन्य जिल्लामा भने तेस्रो लिङ्गी मतदाताको संख्या शून्य छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्मला रेग्मीले नामावली दर्ता गर्न नआएकाले समावेश हुन नसकेको बताइन् । आयोगले मतदाता नामावलीमा नागरिकता लिएको आधारमा तेस्रो लिङ्गीको तथ्यांक निकाल्ने गर्दछ ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले प्रदेशमा तेस्रो लिङ्गी मतदाताको संख्या देखेर आफू अचम्मित भएको बताए ।‘उहाँहरू संगठित भएर लागेकाले मतदाता नामावलीमा पनि संख्या अलि बढी हुनुपर्ने हो,’ उनी भन्छन्, ‘यो संख्या निकै न्यून हो ।’ उनले सुर्खेत र सल्यानलगायतका अन्य जिल्लामा पनि खुलेरै संगठित भएका तेस्रो लिङ्गीहरूको संख्या धेरै रहेको बताए । गएको निर्वाचनमा देशभरबाट एक सय ६७ जना तेस्रो लिङ्गी मात्र मतदान प्रक्रियामा सहभागी भएका थिए ।

प्रकाशित मितिः   ८ चैत्र २०७७, आईतवार ०६:००