विमर्श

आफ्ना कथा, आफ्नै बान्की

विमर्श


कर्णालीबारे नलेखिएको भने होइन, थुप्रै लेखिए । कथामा होस् या कवितामा, गीतमा होस् या निबन्धमा । कर्णालीका कथा लेखिदै आएका छन् । रंगमञ्चदेखि चलचित्रसम्म कर्णालीका कथा देखिने गरेका छन् । तर जति लेखिए, पर्याप्त छैनन् । जसरी लेखिए, सतहका कथा लेखिए । तिनले सिंगो कर्णालीको वास्तविक दृष्य देखाउँदैनन् । गहिराई नापेर लेखिएको कमै भेटिन्छन् ।

यामबहादुर विक

कर्णाली एक टुक्रा भूगोल मात्रै होइन, प्राचिन सभ्यताको मुहान पनि हो । यसको विराट् इतिहास छ । अनुपम सम्भावनासहितको पहिचान छ ।

कर्णाली केवल एक नदी मात्रै पनि होइन, थुप्रै सपना र उर्जाको प्रवाह समेत हो । जो अँध्यारो छिचोलेर उज्यालोतर्फ वेगवान छ ।

तर देख्नेहरूले कुन दृष्टिले हेरे, अँध्यारो मात्रै देखे । उजागर हुनुपर्ने गर्भिलो इतिहास ओझेलमा परेको छ ।

लेख्नेहरूले कुन मसीले लेखे, दुःख मात्रै लेखे । विकटता र गरिबीको विद्रुप विम्बले उज्यालो सम्भावनालाई छोपिदिएको छ ।

के कर्णालीसँग उज्यालो छैन ? लेखक सरला गौतम भने कर्णालीमा उज्यालो नै उज्यालो देख्छिन् । जीवन्त सपनाहरूको लामो नदी बगिरहेको देख्छिन् । विचार र दर्शनको गहिरो फोक्शुण्डो देख्छिन् । बरु लेखिन पो बाँकी छ । ‘कर्णालीको आँखा रुदैन मात्र, सपना पनि देख्छ’ पटक–पटक कर्णाली डुलेकी ‘डुमेरो’ लेखक गौतमले अथ्र्याइन् ।

कर्णालीबारे नलेखिएको भने होइन, थुप्रै लेखिए । कथामा होस् या कवितामा, गीतमा होस् या निबन्धमा । कर्णालीका कथा लेखिदै आएका छन् । रंगमञ्चदेखि चलचित्रसम्म कर्णालीका कथा देखिने गरेका छन् । तर जति लेखिए, पर्याप्त छैनन् । जसरी लेखिए, सतहका कथा लेखिए । तिनले सिङ्गो कर्णालीको वास्तविक दृष्य देखाउँदैनन् । गहिराई नापेर लेखिएको कमै भेटिन्छन् । पिँध छामेर लेख्न बाँकी रहेको स्वीकार्छन्, ‘कर्नाली ब्लुज’का लेखक बुद्धिसागर ।

त्यसो त कर्णालीका उज्याला कथा उजागर गर्नुपर्ने बहस प्रारम्भ भर्खरभर्खर मात्रै भएको छ । कर्णाली उत्सवको दोस्रो संस्करणमा ‘आम्ना कथा, आम्नै बान्की’ शीर्षकको छलफल नै चल्यो । जसमा वक्ताका रूपमा निम्त्याइएका थिए, लेखकद्धय बुद्धिसागर र सरला गौतमका साथमा रंगकर्मी हिरा बिजुली नेपाली र देउडा गायक नेत्रराज शाही ।

कवि एवम् सञ्चारकर्मी भुपेन्द्र खड्काले लेखिएको कर्णाली र लेखिन बाँकी कर्णाली उधिन्ने प्रयास गरे । बाहिरबाट हेर्दा देखिने कर्णाली र यसको पिँधको कथा खोतल्न खोजे । वक्ताहरूको निष्कर्ष थियो, लेखिनुपर्ने कथा त लेखिनै बाँकी छन् । तिनले कर्णालीको सुगन्धसहितको आफ्नै बान्की खोजिरहेका छन् ।

केही वर्षयता कर्णाली खोतल्ने र दुनियाँसामू देखाउने कार्यमा तल्लिन छन् केही युवा । तिनैमध्येको एक हुन् मुगुका हिरा बिजुली । रंगकर्मी हिरा काठमाडौंको अवसर छोडेर कर्णाली फर्किए । आफ्नै माटोका कथा खोज्न थाले । लेख्न थाले । र जीवन्त अभिनयमाफर्त देखाउन थाले । उनको यो अभियान जारी छ । उनको टिमले वि.सं. २०६५ सालमै काठमाडौंको गुरुकुलमा ‘कर्नाली दख्खिन बग्दो छ’ नाटक मञ्चन गरेका थिए । जुन निकै चर्चित बन्यो । हेर्नेजति सबैले मन पराए । नाटक हेर्ने लहरमा आम कलाप्रेमी मात्रै थिएनन् देशका सबैजसो प्रमुख नेताहरू पनि थिए । हिरा सम्झन्छन् उक्त नाटक देखाएको चार वर्षपछि बल्ल तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई एउटा आयोजना उद्घाटनका लागि मुगु पुगेका थिए । हिराहरूले त्यसअघि नै मुगुको कथा काठमाडौं पुगेर उनै भट्टराईलाई देखाएका थिए ।

रंगमञ्चमार्फत थुप्रै पटक कर्णाली मुखरित भएको छ । ‘सुनाइना कर्नाली’, ‘गर्भ छिटा’ लगायत यस्ता केही उल्लेखनीय नाटक छन्, जसले कर्णालीको कथा, आफ्नै बान्कीमा बोल्दछन् । तिनले एकातिर कर्णालीको दुख र पीडा पनि देखाइरहेका छन् साथमा यहाँको उज्यालो सम्भावनालाई पनि दर्शाइरहेका छन् । त्यसैले त हिरा रंगमञ्चलाई समाज रूपान्तरणको महŒवपूर्ण औजार मान्दछन् ।

रंगमञ्चमाजस्तै देउडामा पनि कर्णाली बगेको छ । गायक नेत्रराज शाही देउडा कर्णालीको वास्तविक पहिचान भएको बताउँछन् । उनको नजरमा कर्णालीको अर्को विशिष्टता बोकेको विशेषता हो, देउडा । ‘देउडा कर्णालीको वास्तविकता हो, कर्णालीका अधिकांश संस्कृतीको माउ हो’ उनले भने । तर पछिल्लो समय यो मौलिक संगीत आधुनिकताको चेपुवामा परेको छ । यसको जगेर्ना गर्नुपर्नेमा शाहीको जोड थियो ।

आख्यानमा कर्णाली लेखेका बुद्धिसागर उज्यालो कर्णालीको चित्र आउनै बाँकी रहेको बताइरहेका थिए । ‘कर्णालीका कथा लेख्ने काम भर्खर सुरु भएको छ । कथा र किस्साका हिसाबले कर्णाली धेरै उज्यालो छ । भर्खर हामी आफ्नो कथा भन्न सुरु गर्न थालेका छौं । कथाको गहिराइमा पुग्न थालेका छौं’ उनले भने ।

कर्णालीलाई नजिकबाट अनुभूत गरेकी लेखक सरला गौतम कर्णालीका कथा कर्णाली आफैले लेख्नुपर्नेमा जोड दिइरहेकी थिईन् । ‘कर्णालीको विचारको खानी पनि हो । कर्णालीका आर्तनाद किन विचार हुँदैन ?’ उनले अब आँशु मात्रै नलेखेर कर्णालीले देखेका सपनाहरू लेखिनुपर्ने बताइन्, ‘कर्णालीको अँध्यारोको कुरा धेरै भयो, तर कर्णालीमा चुपचाप दियो कसले बालिरहेछन् ? तिनको कथा किन नलेख्ने ?’

सरलाले भनेजस्तै कर्णालीमा सपना र उर्जा बगेको छ, आँशु मात्रै होइन । बस्, सपनाहरूको कथा भने लेखिन मात्रै बाँकी छ ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७७, शनिबार ०६:०५