क्यान्सर पीडितलाई आर्थिक सहयोग

सुर्खेतः सिम्ताली एकता समाजले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगबाट थलिएका गुुर्भाकोट नगरपालिका–६ का १२ वर्षीय विकास वलीलाई समाजले ५१ हजार आठ सय ८० रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको हो ।

कक्षा ७ मा अध्ययनरत वली एक वर्षदेखि ब्लड क्यान्सर रोगबाट पीडित छन् । उनको काठमाडौंस्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । उपचारमा रकम अभाव भएपछि परिवारले सहयोगका लागि याचना गरेको छ ।

सिम्ताली एकता समाज गुर्भाकोट–६ का संयोजक मोहन केसीले वलीको उपचारमा आर्थिक सहयोग गरिएको जानकारी दिए । उनका अनुसार उपचारमा रकम अभाव भएपछि समाजको अगुवाइमा दाताहरूबाट रकम संकलन गरी परिवारलाई हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा गुर्भाकोट– ६ का अध्यक्ष धनीराम जैसी, सामुदायिक विकास केन्द्रका संयोजक मानबहादुर बस्यालसहित स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २९ फाल्गुन २०७७, शनिबार १४:५२