सरसफाइका लागि साझा अभियान

वीरेन्द्रनगर सरसफाइका लागि साझा अभियान सुरू गरिएको छ । युवाहरू आवद्ध विभिन्न संघ–संस्थाले शनिवार वीरेन्द्रनगरमा बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेर साझा अभियानको थालनी गरेका हुन् । वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहरको रूपमा विकास गर्नका लागि युवाहरूको संयुक्त पहलमा साझा अभियान सुरू गरिएको हो । उनीहरूले नगरबासीलाई आ–आफ्नो समुदायको सरसफाइमा ध्यान दिन पनि अनुरोध गरेका छन् ।

अभियानमा वीरेन्द्रनगर नगरपालिकासहित विभिन्न युवा समूह र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए । शनिवार उनीहरूले वीरेन्द्रनगरको खुलामञ्चमा सरसफाइ गरेका छन् । जहाँ कोरोना संक्रमण रोकथामका लागि क्वारेन्टाइन बनाइएको थियो । हाल क्वारेन्टाइन हटाइए पनि फोहोर व्यवस्थापन भने गरिएकोे थिएन । उक्त फोहोर साझा अभियानका युवाहरूले व्यवस्थापन गरेका हुन् ।

साझा अभियानका संयोजक अनिल ढकालले वीरेन्द्रनगरलाई स्वच्छ, सुन्दर र हरियाली सहरको पहिचान बनाउन सरसफाइलाई अभियानकै रूपमा थालिएको बताए । उनले अभियानलाई निरन्तरता दिइने जनाए ।

प्रकाशित मितिः   १६ फाल्गुन २०७७, आईतवार ०८:३६