आयुर्वेदमा बढायो सरकारले लगानी
सुर्खेतमा आयुर्वेद औषधि उत्पादन गर्न संरचना निर्माणको प्रक्रिया थालिएसँगै कर्णालीका जडिबुटीको सदुपयोग हुने, आयुर्वेद चिकित्साको विकास तथा अर्थतन्त्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

कर्णालीमा आयुर्वेद औषधि उत्पादन गर्न भौतिक संरचना निर्माणको काम थालिएको छ । संघीय सरकाले कर्णालीमा आयुर्वेद औषधि निर्माणशाला भवनको टेण्डर प्रक्रिया अघि बढाएको हो । औषधिजन्य जडिबुटीको प्रचूर सम्भावना रहे पनि हालसम्म यहाँ प्रशोधन तथा उत्पादनका लागि उद्योग तथा प्रयोगशालाहरू छैनन् । जडिबुटीको व्यावसायिक उत्पादन थालिएको छैन । आयुर्वेद प्रयोगशाला बन्ने भएपछि आयस्रोत बढ्ने, उत्पादित जडिबुटीको सदुपयोग हुने र आयुर्वेद चिकित्साको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कर्णालीमा हिमाली भेगका अधिकांश जनसंख्या जडिबुटीजन्य व्यापारमा संलग्न छन् । तर, जडिबुटी व्यवसाय व्यावसायिक बन्न नसक्दा उनीहरूको श्रम तथा सामग्रीले उचित मूल्य पाउन सकेको छैन ।
प्रदेश आयुर्वेद औषधालयका प्रमुुख डा. शंकरप्रसाद रिजालले औषधि निर्माणशाला बनेपछि खेर गइरहेको जडिबुटीको समुचित प्रयोग हुने बताए । उनले आयुर्वेद औषधिमा आत्मनिर्भरका लागि पनि औषधि उत्पादन गर्न लागिएको जनाए । ‘कर्णाली प्रदेश जडिबुटीको हब हो । यहाँ जडिबुटीको प्रचूर सम्भावना छ । अहिलेसम्म सदुपयोग हुुन सकेको छैन,’ उनले भने, ‘अबको केही समयपछि सुर्खेतमै आयुर्वेद औषधि उत्पादन हुनेछ ।’
आयुर्वेद औषधि निर्माणशाला वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद औषधालयको हाताभित्र बन्ने छ । उक्त भौतिक संरचना विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार निर्माण गरिने तयारी गरिएको छ । टेण्डर प्रक्रिया अघि बढिसकेकाले दुई वर्षभित्र सबै संरचना तयार हुने डा. रिजालले जनाए । निर्माणशाला तयार भएपछि विभिन्न थरीका औषधि निर्माण गर्न सकिनेछ । हाल प्रदेश आयुर्वेद औषधालयमा ग्रामीण फार्मेसी छ । जसमा १० प्रकारका औषधि बनाउने गरिएको छ । उक्त फार्मेसीमार्फत तीन वर्षदेखि औषधि उत्पादन गरिँदै आएको छ ।
कर्णालीमा आयुर्वेदका हजारौं औषधि बन्ने जटिबुटी रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । ठूलो क्षमताको औषधि निर्माणशाला बने औषधि उत्पादन तथा कच्चा पदार्थ प्रशोधन गरेर बाहिर निर्यात समेत गर्न सकिने बताइएको छ । औषधि निर्माणशालाको प्रक्रिया अघि बढेसँगै आवश्यक जनशक्तिका लागि पनि प्रदेश सरकारसँग माग गरिएको छ । औषधि निर्माण र अनुसन्धानका लागि आवश्यक ४३ जनाको दरबन्दी सामाजिक विकास मन्त्रालयसँग माग गरिएको प्रदेश आयुर्वेद औषधालयले जनाएको छ । अहिले प्रदेश औषधालयमा विभिन्न तहका आठ जना कर्मचारीको दरबन्दी रहेको छ । दरबन्दी नै न्यून हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको डा. रिजाल बताउँछन् । औषधालयले धेरैजसो अस्थायी जनशक्तिबाट सेवा प्रवाह गरिरहेको उनले बताए । औषधालयमा हाल कार्यालय प्रमुखसमेत गरी एक चिकित्सक, एक कविराज, दुई वैद्य, एक लेखापाल, एक ल्याब असिस्टेन्ट र दुई जना सहयोगीको दरबन्दी छ । यो जनशक्ति औषधालय सञ्चालनका लागि पर्याप्त छैन ।
आयुर्वेदमा आकर्षण पछिल्लो समय आयुर्वेद चिकित्साप्रति आकर्षण पनि बढ्दो छ । अघिल्ला वर्षहरूको तुलनामा आयुर्वेद अस्पतालबाट सेवा लिनेहरू बढेका हुन् । कोरोना महामारी पछि नागरिकमा आयुर्वेद उपचार पद्धतिमा आकर्षण बढेको आयुर्वेद चिकित्सकहरूको भनाइ छ । एक वर्षको अवधिमा औषधालयबाट ४२ हजारले सेवा लिएका छन् । यो संख्या अघिल्ला वर्षहरूभन्दा दोब्बरले बढी हो । औषधालयबाट ओपीडी सेवा मात्र २४ हजारले लिएका हुन् ।
आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको जानकारहरू बताउँछन् । उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको पाइएको हो । सरकारी निकायको उपेक्षाका कारण बेवास्ता हुँदै आएको आयुर्वेद क्षेत्रमा अहिले भने लगानीको वातावरण बनेको छ ।
कर्णालीका १० वटै जिल्लामा आयुर्वेद सेवा केन्द्रहरू सञ्चालनमा छन् । पूर्वाधार र जनशक्ति कम हुँदा बिरामीलाई सबै उपचार सेवा दिन भने कठिनाइ हुने गरेको छ । आयुर्वेद औषधि भरपर्दो र स्थानीयको रोजाइ बने पनि सरकारले उचित नीति तथा कार्यक्रम ल्याउन नसक्दा सेवा प्रवाहमा समस्या हुने गरेको बताइएको छ ।
प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकाल आयुर्वेदको विकास र विस्तारमा सरकारको कमै चासो जाने गरेको बताउँछन् । ‘विगतदेखि नै सरकारी बेवास्ताको सिकार बनेको आयुर्वेद चिकित्साले अब भने गति लिने अवस्था बन्दै गएको छ,’ उनले भने, ‘जनशक्ति र भौतिक साधनस्रोतको अभाव झेल्दै आएको आयुर्वेदमा लगानी गर्न थालिएको छ ।’ उनका अनुसार प्रदेश औषधालयमा औषधि उत्पादन गृह, १५ शैयाको अस्पताल र अस्पतालसम्मको सडक स्तरोन्नतिका लागि टेण्डर भइसकेको छ । वि.सं. २०१७ सालमा स्थापना भएको साविकको भेरी अञ्चल आयुर्वेद औषधालयलाई प्रदेश सरकारले दुई वर्षअघि प्रदेश आयुर्वेद अस्पतालमा रूपान्तरण गरेको हो ।
प्रकाशित मितिः १५ फाल्गुन २०७७, शनिबार १०:५५
साझा बिसौनी ।