उत्पादन बढाउन बगैंचा व्यवस्थापन सीप

जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय दलजीत बुढा गाउँकै पहिलो स्याउ रोप्ने किसान हुन् । उनले २०५० सालदेखि अनुभव र ज्ञानविनै स्याउ लगाएका थिए । हचुवामा स्याउ रोपेका दलजीतको बगैंचाबाट सोचेजस्तो आम्दानी हुन सकेन ।

‘गाउँमै पहिलो पटक स्याउ खेतीको थालनी गरियो । सुनेकै भरमा लगाएका बिरुवा फलेनन्,’ उनले भने । उत्पादन बढाउने ज्ञान नहुँदा न्यून उत्पादन गर्दै आएका किसानहरूलाई यतिबेला भने स्याउ बगैंचा व्यवस्थापनको सीप दिन थालिएको छ । यो वर्ष स्याउ सुपरजोनले किसानका बगैंचामै पुगी तालिम दिएको छ । अर्को वर्षबाट राम्रो आम्दानी हुने अपेक्षा गरिएको स्याउ किसानले बताएका छन् । स्थानीय प्रेम रावलले बगैंचा व्यवस्थित गर्न सिकेकाले अब उत्पादन बढ्ने अपेक्षा गरिएको जनाए ।

बगैंचा व्यवस्थापनबारे जानकारी नहुँदा स्थानीय हरिबहादुर कुँवर पनि स्याउ खेतीबाट लाभ लिन नसकिएको बताउँछन् । स्याउले सामान्यतया पाँच वर्षमा फल दिने गरे पनि १० वर्षमा बगैंचा रित्तै हुने गरेको उनले सुनाए । बगैंचा व्यवस्थापन गर्न नजान्दा स्याउका बोट छिट्टै मर्ने गरेका हुन् ।

स्याउ उत्पादन घटेको गुनासो बढेपछि अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ स्याउ सुपरजोन जुम्लाले बगैंचामै पुगी स्याउ काँटछाँट र मलखात व्यवस्थापनको तालिम दिइएको हो । यो वर्ष जिल्लामा ५० प्रतिशत स्याउ उत्पादनमा गिरावट आएको थियो । ‘विगतमा सबै निकायबाट स्याउका बिरुवा बाँड्ने काम मात्रै भयो । कृषकलाई प्रयोगात्मक तालिम दिइएन,’ स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले भने । स्याउको बोटमै पुगेर समस्या पहिचान गरी व्यवस्थापनबारे जानकारी दिने गरिएको उनले बताए । पछिल्लो समय स्याउ खेतीमा किसानको चासो बढ्दै गएपछि व्यवस्थित बगैंचा बनाउनेतर्फ जोड दिइएको भण्डारी बताउँछन् ।

तालिममा मुख्यतः काँटछाँट, मलखाँद व्यवस्थापन, रोगकिरा नियन्त्रणलगायतका उपाय सिकाइन्छ । जुम्लाका कृषकको आम्दानीको मुख्य स्रोत स्याउ भएकोले बगैंचा विस्तार र व्यवस्थितमा बढी जोड दिइनुपर्ने कृषि विज्ञहरूले बताउँदै आएका छन्  । फँुजी स्याउमा किसान आकर्षण बढेकाले सुपरजोनले यो वर्ष ५० प्रतिशत अनुदानमा विरुवा दिने जनाएको छ । कृषि विकास कार्यालयका अनुसार जुम्लाका १६ हजार घरधुरीले कुल तीन हजार एक सय हेक्टरमा स्याउखेती गर्छन् ।

प्रकाशित मितिः   ६ माघ २०७७, मंगलवार १०:३८