जनता आवासका कर्मचारीले तलब पाएनन्

जनता आवास कार्यक्रमका कर्मचारीहरूले ६ महिनादेखि तलब पाएका छैनन् । गएको साउनदेखि आफूहरूलाई बेतलबी बनाइएको उनीहरूले गुनासो गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालय अन्तर्गत रहेर काम गर्दै आएका करार कर्मचारीहरूले तलब नपाएका हुन् । जनता आवास कार्यक्रमका १० जिल्लाका १२ जना कर्मचारीहरूले तलबविनै काम गर्न बाध्य भएको बताएका छन् ।

कर्मचारी पूर्णप्रसाद कुमाईले आफूहरूको हाजिर समेत ६ महिनादेखि नभएको जनाए । ‘मैले काम गर्न थालेको करिब तीन वर्ष जति भयो,’ उनले भने, ‘गत असारदेखि देखि नियुक्ति–पत्र छैन, हाजिर पनि भएको छैन ।’ उनले काममा निरन्तर खट्नु परे पनि तलब नपाउँदा फिल्ड जानसमेत समस्या भएको बताए । तलब नपाएको विषयमा कुरा राख्दा भौतिक पूर्वाधार विकास मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाइसकेको जानकारी दिए पनि अर्थलेसमेत भौतिकबाट पत्र नआएको भन्दै टारेको उनले सुनाए ।

यता पूर्वाधार विकास निर्देशनालयका प्रमुख वासुदेव पौडेलले अस्थायी दरबन्दी स्वीकृत नभएका कारण जनता आवास कार्यक्रमका कर्मचारीलाई तलब दिन समस्या भएको बताए । ‘पहिले उहाँहरूले संघीय सरकारबाट तलब खानुहुन्थ्यो,’ उनले भने, ‘कार्यक्रम संघबाट प्रदेशमा हस्तान्तरण भएपछि प्रदेशको जिम्मेवारीमा छ ।’ गत आर्थिक वर्षको तलबका लागि संघीय सरकारले रकम पठाएको भए पनि यो वर्ष रकम नआएको उनी बताउँछन् । पौडेलका अनुसार प्रदेश सरकारले जनता आवासका अस्थायी कर्मचारीलाई चालु आर्थिक वर्षमा ६ महिनाको मात्रै तलब दिने सम्झौता भएको छ । उक्त तलब अबको केही दिनभित्रै कर्मचारीहरूले पाउने उनले बताए ।

प्रकाशित मितिः   ६ माघ २०७७, मंगलवार १०:३९