प्राथमिकतामा सडक

कर्णाली प्रदेशको राजधानी हो, वीरेन्द्रनगर । प्रदेशको सबैभन्दा सुगम मानिने सहर । मुख्य बजार । प्रदेशकै प्रवेशद्वार । कर्णालीको सबैभन्दा ठूलो नगरपालिका पनि हो, यो । शैक्षिकदेखि प्रशासनिक केन्द्र । वीरेन्द्रनगरमै छन् प्रदेश सरकारका प्रमुख संरचना । यहीबाट सरकार सञ्चालन हुन्छ । सबै हिसाबले केन्द्रविन्दु बनेको वीरेन्द्रनगरका सडकको अवस्था भने कमजोर छ । मुख्य बजार क्षेत्रकै सडक सुधार र स्तरोन्नति हुन सकेका छैनन् । जीर्ण अवस्थामा छन् । विगतको क्षेत्रीय सदरमुकामबाट अहिलेको अधिकारसम्पन्न प्रदेश सरकार सञ्चालन हुन मुकाम भएर पनि आधारभूत पूर्वाधार विकासमै पछि परेको गुनासो यहाँका नागरिकको रहँदै आएको छ । त्यही गुनासो अब भने सम्बोधन हुने क्रममा छ ।

पछिल्लो समय वीरेन्द्रनगरमा सडक सुधार–विस्तारको कामले तीव्रता पाएको छ । यहाँ अहिले तीनवटै तहका सरकारको लगानीमा साना–ठूला गरी झण्डै एक सय बढी सडक निर्माण र स्तरोन्नतिको काम भइरहेको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा यतिबेला ३५ वटा सडकमा काम हुँदैछ । गत आर्थिक वर्ष र यो वर्ष सम्झौता भएका ती योजनाहरूको तीव्र गतिमा काम भइरहेको निर्देशनालयले जनाएको छ । निर्देशनालय मातहत सञ्चालित क्रमागत बाहेकका सडक योजनाको काम यसैवर्ष सकिनेछ । राजधानीमा हाल वीरेन्द्रनगर नगरपालिका र संघीय सरकारका ७० भन्दा बढी सडकका योजनासमेत चालु आर्थिक वर्षमा सञ्चालित छन् । ती योजना निर्माणका लागि दुईवटै तहका सरकारले गरी झण्डै ५० करोड बजेट विनियोजन गरेका छन् । कतिपय सडकहरूमा काम भइरहेको र बाँकी योजनाको पनि टेण्डर भइसकेकाले आगामी असार मसान्तसम्ममा काम सम्पन्न हुनेछन् । अर्को महŒवपूर्ण आयोजनाका रूपमा रहेको उपत्यका चक्रपथ निर्माण र विस्तारको काम अघि बढेको छ । जसलाई चालु आर्थिक वर्षभित्रै काम सक्ने लक्ष्य नगरपालिकाको छ । यद्यपि चक्रपथ सडक क्रमागत योजना हो । कूल ३४ किलोमिटरमध्ये हालसम्म १३ किलोमिटर निर्माणको काम सम्पन्न भएको छ ।

अहिले भइरहेको काम हेर्ने हो भने चालु आर्थिक वर्षमा राजधानीका सडक पूर्वाधार विकासमा लागि प्रदेश सरकारले पनि प्राथमिकता दिएको छ । प्रदेशले सडक फराकिला बनाउन ठूलो रकम विनियोजन गरेको छ । बीचमा कोरोना महामारीका कारण केही समय सडकको काममा बाधा पुग्यो । अहिले धमाधम काम भइरहेको छ । धेरैजसो सडकको काम आगामी असार मसान्तसम्ममा सक्ने योजना छ । सबै सडक समयमै सम्पन्न भएको खण्डमा अबको केही समयभित्र वीरेन्द्रनगरका सडक सुदृढ हुनेछन् ।

यहाँका अधिकांश सडक साँघुरा छन् । जसको सुधार अपरिहार्य छ । राजधानी बनेसँग जनसंख्याको चाप बढ्दै छ । जनसंख्या सँगसँगै सवारी साधनको चाप पनि उच्च छ । अब राजधानीका सडक जतिसक्यो फराकिला हुनु अपरिहार्य छ । नत्र भविष्यमा समस्या निम्तिन सक्दछ । त्यसैले सडक सुधार, स्तरोन्नति र व्यवस्थित गर्न तीनै तहका सरकारले विशेष ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   ६ माघ २०७७, मंगलवार १०:३७