‘बेपत्ताका परिवारलाई रोजगारी’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बेपत्ता व्यक्तिका परिवारका लागि रोजगारीको व्यवस्था गरिने बताएका छन् । त्यसका लागि आवश्यक नीति बनाइने उनले जनाए । उनले द्वन्द्वका बेला बेपत्ता पारिएका परिवारका बेरोजगार सदस्यका लागि आवश्यक नीति निर्माण गरी रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आयोगले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले बुधवार वीरेन्द्रनगरमा आयोजना गरेको सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अहिलेको राजनैतिक परिवर्तनमा सहिद र बेपत्ता पारिएका व्यक्तिहरूको मुख्य भूमिका रहेको उनले सुनाए । ‘बेपत्ता पारिएका व्यक्तिका परिवारले लामो समयसम्म न्याय नपाउनु दुःखद् भएको उनको भनाइ छ । मुख्यमन्त्री शाहीले भने, ‘उनीहरू फर्केर आउने आशामा परिवार बाँच्नु परेको छ ।’ बेपत्ताका परिवारलाई छिटो भन्दा छिटो न्याय दिनुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।
मुख्यमन्त्री शाहीले हरेक जिल्लामा गएर पीडितका कुरा सुन्न आयोगलाई आग्रह समेत गरेका छन् । राजधानीमा मात्र कार्यक्रम गरेर आयोगको काम उपलब्धीमूलक हुन नसक्ने उनले बताए । उनले बेपत्ता परिवारको लागि राहत र परिपूरणका काममा प्रदेश सरकारले आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार ०६:०३
साझा बिसौनी ।