साझा संवाद

‘जनप्रतिनिधिले भोटको अपमान गरे’

साझा संवाद


गेहेन्द्रप्रसाद दहाल शिक्षक थिए । उनले २७ वर्ष शिक्षण पेसामा बिताए । जागिरे जीवनबाट अवकाश लिएपछि केही वर्षयता उनको परिचय फेरिएको छ । तर, शैक्षिक अभियानको यात्रा भने रोकिएको छैन । दहाल तीन वर्षयता नेता बनेका छन् । उनी हाल साझा पार्टीका कर्णाली प्रदेश संयोजक हुन् । सामाजिक संस्था जेसीजको लामो नेतृत्व अनुभव संगालेका दहाल पछिल्लो समय राजनीतिमा सक्रिय छन् । गएको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा उनले स्वतन्त्र उमेदवारी दिएका थिए । दहाल पछि विवेशील साझा पार्टीमा प्रवेश गरेका हुन् । पार्टीमा फुटको अवस्था आएपछि उनी साझा पार्टीमा आवद्ध भए ।सुर्खेतको शिक्षा क्षेत्र र नेतृत्व विकासमा योगदान पु¥याएका उनै दहालसँग हाम्रा सहकर्मी सीता वलीले गरेको राजनीतिक संवादः

गेहेन्द्रप्रसाद दहाल कर्णाली प्रदेश संयोजक, साझा पार्टी
  • सामाजिक सञ्जाल हेर्दा पार्टीको संगठन विस्तारमा निकै लागेको देखिन्छ । के साझा पार्टी सबैको साझा बन्ला ?

हामीहरूले खासै पार्टीका गतिविधि गर्न सकेका छैनौँ । हाम्रो गति अत्यन्तै सुस्त छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका बेला ठूला भनिएका दलहरूले संगठन विस्तारको कामलाई निकै प्राथमिकतामा राखेको पाइयो । तर हामीले सुरक्षाको दृष्टिकोणले महामारीका बेला यसो गर्नु हुँदैन भनेर संगठन विस्तारको कामलाई अगाडि बढाउन सकेनौं । लुम्बिनी राष्ट्रिय भेलामा एउटा निर्णय भएको थियो, देशभर भुइँयात्रा गर्ने । त्यो पनि गर्न सकिएन ।

विभिन्न समयमा अनलाइनमार्फत जुम बैठकहरू भने सञ्चालन गर्दै आएका छौं । यसैबीचमा लकडाउन खुकुलो भएसँगै सामाजिक दूरी कायम गर्दै कर्णालीका १0 वटै जिल्लामा जिल्ला समिति गठनको काम  सकिएकाे छ।

  • साझा पार्टीसँग राजनीतिक एजेण्डा नै छैन भन्ने आरोप लाग्ने गरेको छ नि ? के यहाँहरूसँग राजनीतिक एजेण्डा नै नभएको हो र ?

हाम्रो पार्टीको एजेण्डा भनेकै सामाजिक एजेण्डा हो । २0४६ सालभन्दा पहिले नेपाली जनताको स्थिति जस्तो थियो आज पनि उही छ । मुलुकका शासकीय संरचना फेरिए पनि जनताका समस्या ज्युँका त्युँ छन् । पूराना दलहरूले जनताका दुःखको पनि ब्याज खाइरहेका छन् । युवाले नेतृत्व लिन पाएका छैनन् । चुनाव जित्नका लागि मात्रै ठूला भनिएका राजनीतिक दलहरू लागेको देखिन्छ । देशका अन्य प्रदेशभन्दा कर्णालीको अवस्था झनै दयनीय छ । कहिल्यै पनि नेताहरूको प्राथमिकतामा कर्णाली परेन । कर्णाली कसले बनाउने ? यो गम्भीर प्रश्न छ । जनताले आधारभूत आवश्यकता पूरा गर्न नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था विद्यमान छ । त्यसैले युवालाई नेतृत्वमा ल्याई जनतालाई कहरबाट मुक्ति दिने नै हाम्रो एजेण्डा हो ।

हामीले शिक्षा र स्वास्थ्यको अपनत्व राज्यले लिनुपर्छ भन्ने विषयमा बढी उठाएका छौं । अन्य दलहरूले मानवस्रोत निर्माणमा कुनै पनि ध्यान दिएको देखिँदैन । उनीहरूले चुनावका बेला ड्याङडूङ गर्नेलाई मात्रै उत्पादन गरेको देखिन्छ । यसरी देश बन्न सक्दैन । देश बन्न नेतृत्व युवामा जानुपर्छ भन्ने हाम्रो भनाइ हो । शिक्षा, स्वास्थ्य जस्ता विषयमा सरकार गम्भीर बन्नुपर्छ । दक्ष जनशक्तिविना मुलुकको समृद्धि सम्भव छैन । हाम्रो दलले पद्धति, पारदर्शिता, इमान्दारिता र उत्कृष्टतामा विश्वास गर्छ । यी चार वटा खम्बामा टेकेर हामी जनताकाबीचमा गएका छौं । विकासमा शब्दले अर्थ राख्दैन । पुष्टि गर्न सक्नुपर्छ । सोही अनुसार बोल्नुपर्छ । आपराधिक मनोविज्ञानलाई विस्थापित गर्नेगरी विकल्पको रूपमा हामी आएका हौं ।

  • विवेकशील साझा गठन भएको छोटो समयमै फुट्यो । अहिले तपाईंहरू साझा पार्टीमा हुनुहुन्छ । आफैँ जुट्न नसक्ने नेतृत्वले पूराना र स्थापित दलहरूलाई विस्थापित गरेर कसरी वैकल्पिक पार्टी बन्नुहुन्छ ?

फुट्न जान्नेले जुट्न पनि जानेको हुन्छ । हो, विवेकशील साझा फुटेको थियो । अबको केही दिनमा एकीकरण हुँदैछ । त्यो पनि लुम्बिनी प्रदेशमा भएको भेलाको म्यान्डेटका आधारमा फेरि एक हुन लागिएको हो । पार्टी एकीकरणको काम र देशभरका सबै जिल्लाहरूमा जिल्ला समिति विस्तार गर्दैछौं । यो नै हाम्रो पार्टी बलियो बन्ने आधार र रणनीति हो । विस्तारै हरेक स्थानीय तहसम्म संगठन विस्तार गर्ने योजनामा हामी छौं । राजनीतिक दलप्रति जनताले आजको आजै विश्वास गरिहाल्ने अवस्था नभएको पक्कै हो । मुलुकको लामो समय शासन गरेका दललाई विस्थापित गर्ने कुरा त्यति सहज पनि पक्कै होइन । यद्यपि हामी यी दलका विकल्पका रूपमा उदाउने छौं । हाम्रा एजेण्डा र गतिविधिले जनताले ढिलोचाडो विश्वास गर्ने नै छन् ।

  • नेपाली समाज राजनीतिक रूपमा निकै विभाजित छ । यस्तो धरातलमा वैकल्पिक शक्तिको अभियान सफल होला ?

हैन त्यो त हामीले गर्ने कर्ममा भरपर्छ । ठूला भनिएका पार्टीले केही काम गर्नुप¥र्यो भने माथिको निर्णय कुर्नुपर्छ । हाम्रो पार्टीमा तलको निर्णय नै मान्य हुन्छ । त्यो विधि र पद्धति हामीले अपनाएका छौं । हामी विधिमा टेकर काम गर्छौं । पार्टीको नाम होइन विचार र त्यसलाई पुष्टि गर्ने गरी अगाडि बढिएको छ । त्यसैले हामीलाई विश्वास छ जनताको मन जित्न सकिनेछ ।

  • लामो समय शिक्षा क्षेत्रमा रहेर काम गर्नुभयो । विद्यालय सुधारमा अब्बल व्यक्ति मानिनुहुन्थ्यो । राजनीतिक यात्रा कति कठिन रहेछ ?

म शिक्षा क्षेत्रमा काम नगरेको भए र नेतृत्व गर्ने अवसर नपाएको भए राजनीतिमा आउँदै आउने थिएन । हाम्रो पार्टीको एजेण्डा र मेरो कार्यक्षेत्र मिल्न पनि गयो । निर्धक्क भन्न सक्छु, मैले शिक्षा क्षेत्रमा थुप्रै सुधार गरेको छु । यहाँ विद्यार्थीबाट लुट्ने र शिक्षकका लागि केही नसोच्ने प्रवृत्ति हावी छ । धेरै विद्यार्थी शुल्क तिर्न नसकेरै पढाइ छोड्न बाध्य छन् । कतिले आत्महत्या त कति गलत बाटोमा लागेको देख्न सकिन्छ । त्यसैले मेरो पहिलेदेखि नै शिक्षा क्षेत्र सुधारको लडाइ हो । राज्यले पूर्णरूपमा शिक्षा क्षेत्रलाई निःशुल्क र रोजगारीको ग्यारेण्टी गर्नुपर्छ । मलाई शिक्षक भएकै कारण यो क्षेत्रको ज्ञान छ र राजनीतिमा सहजता पनि भएको छ । शिक्षक हुँदा पनि सबैको साझा हेडमास्टर हुन चाहन्थेँ र अहिले पनि सबैको साझा बन्न चाहन्छु । समाजमा न्याय हराएको छ, विश्वास मेटिएको छ । मेरो हिजोको काम नै आजको कामको आधार हो । मैले २७ वर्ष शिक्षण क्षेत्रमा बिताएको छु । जेसीजमा रहेर विश्वका २२ वटा देशको नेतृत्व समेत गर्ने अवसर पाएको थिएँ । त्यसैले मलाई राजनीतिमा असहज भएको छैन ।

  • अरू क्षेत्रजस्तै राजनीतिमा पनि सफल बन्छु जस्तो लाग्छ ?

मलाई व्यक्तिगत रूपमा सफल हुनु छैन । राजनीतिमा सफल भनेको चुनाव जित्नुलाई नै बुझिन्छ । ठूला भनिएका दलहरू आगामी चुनाव जित्नका लागि काम गर्छन् । जनताले उनीहरूलाई आफू बन भनेर पठाएको होइन । देश बनाऊँ भनेर पठाएका हुन् । निर्वाचित प्रतिनिधिले पार्टी संगठन विस्तार गर्ने होइन जनताका दुःख हटाउन सक्नुपर्छ । त्यसैले म सफल हुनु र नहुनुमा केही फरक पर्दैन । तर जनता सफल हुनुपर्छ । जनताले जिताएको प्रतिनिधिले गरेका वाचा पूरा गर्न सक्नुपर्छ । हामी हारे पनि समाजका मुद्दामा बोल्न छोड्दैनौं । अन्यायमा परेकालाई न्याय दिन सकियो भने त्यो नै हाम्रो सफलता हुनेछ ।

  • आगामी निर्वाचनको तयारी के छ ? आउने चुनावमा कर्णालीका नागरिकले साझा पार्टीलाई साथ देलान् ?

अहिले हामी पार्टीको संगठन विस्तारमै छौं । कर्णालीका सबै जिल्लामा जिल्ला कमिटी गठनको काम अन्तिम चरणमा पुगेको छ । हामी निर्वाचन जित्नैपर्छ भनेर आएका होइनौं । जनताले हाम्रो पार्टीको सिद्धान्त, एजेण्डा राम्रो लागे पत्याएर भोट दिनुहुन्छ । जतिले साथ दिनुहुन्छ परिणाम हामी स्वीकार्छाैं । निर्वाचन जित्नु प्राविधिक कुरा मात्रै हो । त्योभन्दा पनि जनताको चेतनाको स्तर उठाउन सकियो भने त्यही नै हाम्रो जित हो । सरकारले गरेका काममा हरेक जनताले प्रश्न गर्न सकूँन् । गलत कामको विरोध होस् । सबैले आधारभूत आवश्यकता प्राप्त गरून् । पार्टीहरूको नेतृत्व युवामा जाओस् । यसैमा हाम्रो जीत हुनेछ ।

  • अहिलेका जनप्रतिनिधिले चुनावताका जनतासँग गरेका वाचा पूरा गरेका छन् ?

साँच्चै भन्ने हो भने वीरेन्द्रनगर नगरपालिकाका अहिलेका निर्वाचित जनप्रतिनिधिले कुनै पनि घोषणा–पत्र ल्याएका थिएनन् । जब जनतालाई वाचा नै गरेका छैनन् भने पूरा गर्ने कुरै भएन । ठूला दलहरूको जनताप्रति वाचा गर्ने संस्कारै छैन । यदि गरिहाले पनि त्यसलाई पूरा गरेको देखिँदैन । तपाईंहरूले यो–यो काम गर्नुभएन भन्ने आधार नै छैन । घोषणा–पत्र भए पो जनताले प्रश्न गर्न पाउँछन् । वीरेन्द्रनगरमा थुप्रै समस्या छन् जसलाई पूरा गर्न अहिलेका प्रतिनिधिले सकेका छैनन् । उनीहरूले जनताको भोटको अपमान गरेका छन् । उनीहरू जनताको समस्याभन्दा आफ्नो दलप्रति बफादार छन् ।

प्रकाशित मितिः   ११ मंसिर २०७७, बिहीबार ०६:०५