फरार अभियुक्तहरू पक्राउ

कर्णाली प्रदेश प्रहरीले कैद र जरिवाना भुक्तानी नगरेर फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीको विशेष टोलीले अदालतबाट दोषी ठहर भइ कैद र जरिवाना भुक्तान नभएका अभियुक्तलाई पक्राउ गरेर सम्बन्धित जिल्ला अदालतमा बुझाएको हो ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दैलेखको दुल्लू नगरपालिका–१० का विष्णुबहादुर थापालाई पक्राउ गरेर जिल्ला अदालत दैलेखमा बुझाइएको छ । उनलाई वीरेन्द्रनगर–१ बाङ्गेसिमलबाट पक्राउ गरिएको थियो ।

यस्तै, जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद तोकिएका दैलेखकै डुङ्गेश्वर गाउँपालिका–३ का टोपबहादुर खत्रीलाई पनि पक्राउ गरेर जिल्ला अदालत दैलेखमा बुझाइएको छ । उनलाई वीरेन्द्रनगर नगरपालिका–१२ चनौटेबाट पक्राउ गरिएको हो । चेक अनादर कसूरमा दुई वर्ष कैद तोकिएका वीरेन्द्रनगर नगरपालिका–१ का नवराज शर्मालाई पनि पक्राउ गरेर जिल्ला अदालत सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय सल्यानले अदालतबाट कैद र जरिवाना तोकिएका फरार २७ जना अभियुक्त पक्राउ गरेको छ । कुटपिट मुद्दाका चार जना, नाता कायम मुद्दाका एक जना, लुटपिट मुद्दाका दुई जना, सवारी ज्यान मुद्दाका ६ जना, करकाप मुद्दाका दुुई जना र सम्बन्धविच्छेद मुद्दा चार जनालाई पक्राउ गरेर जिल्ला अदालत सल्यानमा बुझाइएको हो । गाली बेइज्जत मुद्दाका एक, चेक अनादर मुद्दाका दुई, कर्तव्य ज्यान मुद्दाका एक, जबरजस्ती करणी मुद्दाको एक, सार्वजनिक मुद्दाका एक र बहुविवाह मुद्दाका दुई जनालाई पक्राउ गरिएको हो ।

प्रकाशित मितिः   १५ श्रावण २०७७, बिहीबार ०६:०३