कृषकलाई राहत

कोरोना भाइरस (कोभिड–१९)को महामारीले आक्रान्त बनाइरहेका बेला अर्को समस्या बनेर आइपुग्यो सलह । भारतबाट नेपाल भित्रिएको सलह यतिबेला देशका विभिन्न स्थानमा घुमिरहेको छ । कर्णाली प्रदेशमा पनि यसको प्रवेश भइसकेको छ । त्यो पनि दुई पटक । प्रदेश भित्रिएको सलहको झुण्डले बालीमा क्षति पु¥याउन थालिसकेको छ । जसले कृषकहरू चिन्तित बनेका छन् । यतिबेला कृषकको बारीभरी खेती छ । कसैको बारीमा मकै छ भने कसैको खेतमा हालै रोपिएका धान । अहिले सलहले त्यही मकै र धानलाई आफ्नो आहारा बनाउँदा कृषक चिन्तित बनेका हुन् । सलह भगाउन अनेक प्रयास गरिए पनि सफल हुन सकिरहेको छैन । सुर्खेतको भेरीगंगा नगरपालिकामा यतिबेला सलहको प्रभाव बढी देखिएको छ । सलह किराले यहाँ ४० प्रतिशत बालीमा क्षति पु¥याएको जनाइएको छ । कोही किसानको भने सबै बाली सखाप पारिदिएको छ ।

सलह किराको प्रकोप बढ्दै गएको छ । यो अझै बढ्दै विज्ञहरू बताउँछन् । किनभने असारदेखि असोज महिनासम्मको जोखिम बढी छ । अर्काेतर्फ मनसुन सुरु भएको दुईदेखि तीन हप्तासम्म यसको प्रजनन् क्षमता बढी हुने हुँदा पनि यतिबेला जोखिम बढेको बताइन्छ । यो समय यसको वृत्ति विकासका लागि उपयुक्त हावापानी भएको विज्ञहरू बताउँछन् । यसैगरी वातावरणीय परिवर्तन भइ केही न्यानो बढ्ने हुँदा सलहका लागि उपयुक्त वातावरण हुन गई यसले आफ्नो जीवनचक्रमा परिवर्तन ल्याउन सक्छ र आफ्ना गतिविधि तथा प्रजनन् क्षमता वृद्धि गर्दै यसको फैलावट बढ्न गइ नेपालमा जोखिम बढाउनेतर्फ पनि विज्ञहरूले संकेत गरेका छन् । यसको अर्थ सलहको प्रकोप अझै केही समय कायम रहनेछ । प्रकोप कायम रहनु भनेको क्षति बढ्नु हो ।

सलहको प्रकोपसँगै कृषकको बाली जोखिममा छ । यसको सुरक्षा आजको आवश्यकता बनेको छ । यो किराले बालीनालीमा आक्रमण मात्रै गर्दैन, अन्नबाली खाएर सखाप नै पार्दछ । जसले गर्दा भोकमरीको समस्या नै निम्त्याउने होकि भन्ने प्रश्न उठेको छ । त्यसैले सम्भावित जोखिमबाट बच्न समयमै सतर्कता अपनाउनुपर्दछ । विनाशबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्नको लागि सरकारले ठोस कदम चाल्नु आवश्यक छ । सरकारले सलह नियन्त्रणका लागि चासो नदेखाएको होइन । तर ठोस योजना भने अहिलेसम्म आएको छैन । यता किराले कृषकको बाली सखाप पार्न थालिसकेको छ । कतिपय स्थानीय तहले सलह मारेर ल्याउनेलाई त्यसको तौल अनुसार मूल्य तोकेर पैसा दिने घोषणा पनि गरेका छन् । तर त्यसले सलह प्रकोप नियन्त्रण हुँदैन । साथमा राज्यले क्षति बेहोरेका कृषकहरूलाई राहत दिनेगरी पनि योजना बनाउन ढिला गर्नु हुँदैन । कर्णाली प्रदेशका अधिकांश जिल्लामा सलह फैलिइसकेको छ । केही दिन पहिले कर्णालीमा ठूलो समूहमा सलहका झुण्ड देखिएका थिए । तिनै सलह बारीमा पसेर मकै तथा अन्य बालीमा क्षति गरेका हुन् । क्षति रोक्नुका साथै क्षतिकै कारण समस्यामा परेका नागरिकलाई राहत योजना अहिलेको आवश्यकता हो ।

प्रकाशित मितिः   १४ श्रावण २०७७, बुधबार ०६:०४