पत्रकार शर्माको नाममा अक्षयकोष

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले ‘डिल स्मृति पत्रकारिता पुरस्कार’को लागि अक्षयकोष स्थापना गर्ने भएको छ । समितिको पहिलो साधारणसभाले संस्थाका संस्थापक सचिव स्व. डिलप्रसाद शर्माको नाममा दुई लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

‘डिल स्मृति पत्रकारिता पुरस्कार’ का लागि दुई लाख रूपैयाँको अक्षयकोष स्थापना गर्ने र उक्त कोषको ब्याजबाट संसदीय रिपोर्टिङ्ग गर्ने दुई जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गरिने बताइएको छ । अक्षयकोष सञ्चालन तथा व्यवस्थापनको लागि उपाध्यक्ष देवबहादुर रानाको संयोजकत्वमा तीन सदस्यीय समिति समेत बनाइएको छ । कोष स्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरिनेछ । बोनम्यारो सम्बन्धी समस्याले पीडित पत्रकार शर्माको २३ वर्षको उमेरमा गत कार्तिकमा उपचारको क्रममा निधन भएको थियो । उनी साझा बिसौनी दैनिक र देशसञ्चार अनलाइन लगायतका सञ्चारमाध्यममा आवद्ध थिए ।

यस्तै, संसदीय मामिला पत्रकार समाज कर्णालीले पहिलो साधारण सभामार्फत समितिलाई पूर्णता दिएको छ । समाजको अध्यक्षमा शेरबहादुर थापा, उपाध्यक्षमा देवबहादुर राना, सचिवमा सीताकुमारी वली, सह–सचिवमा पूर्णबहादुर खड्का, कोषाध्यक्षमा यज्ञ खत्री, सदस्यहरूमा यशकुमार चपाईं, सीता आचार्य, बसन्त भण्डारी र रमा केसी चयन भएका छन् ।

प्रकाशित मितिः   १४ श्रावण २०७७, बुधबार ०६:०३