तीन करोड लागतमा शीत भण्डार निर्माण

महिला किसानहरूको नेतृत्वमा कर्णाली प्रदेशकै ठूलो क्षमताको शीत भण्डार (कोल्ड स्टोर) निर्माण गरिएको छ । भेरीगंगा नगरपालिका–१० छिन्चुस्थित झिलमिलेमा नारी जागरण कृषक समूहले तीन करोड लागतमा उच्च क्षमताको चिस्यान केन्द्र निर्माण गरेको हो । उक्त कोल्ड स्टोर अबको केही दिनभित्र सञ्चालनमा ल्याउने तयारी छ ।

समूहले २०७५ मंसिरदेखि शीत भण्डार निर्माणको काम सुरु गरेको थियो । यसमा प्रदेश सरकार अन्तर्गत प्रदेश कृषि विकास निर्देशनालयको करिब ८५ लाख, भेरीगंगा नगरपालिकाको ६७ लाख, गुर्भाकोट नगरपालिकाको पाँच लाख, साना तथा मझौला आयस्तर कृषि आयोजनाको ३९ लाख र अन्य रकम समूहको आफ्नै लगानी छ । डेढ रोपनी जग्गामा दुई सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको हो ।

निर्माण समितिका संयोजक ज्ञानु भुुसालका अनुसार ५०÷५० मेट्रिक टनका चार वटा कोठा निर्माण भएका छन् । उनका अनुसार तीन वटा कोठामा बीउ र एक वटा कोठामा तरकारी तथा फलफूल राखिनेछ । ‘हामीले ठूलो मेहेनतका साथ कोल्ड स्टोर निर्माण गरेका छौं । यसमा विभिन्न आयोजना, स्थानीय तह र प्रदेश सरकारको लगानी छ,’ उनले भनिन् । कोल्ड स्टोर निर्माण भएसँगै कृषकहरू उत्साहित भएको उनले सुनाइन् ।

उक्त कोल्ड स्टोर सञ्चालनमा आए यहाँका कृषकहरूले उत्पादन गरेका बीउ, तरकारी तथा फलफूल लामो समयसम्म राख्न सकिने र खेर नजाने बताइएको छ । विशेषगरी जुम्लाको स्याउ राख्ने गरी कोल्ड स्टोर सञ्चालनमा ल्याइँदै छ । कोल्ड स्टोरमा विद्युतको लाइन जोड्नेलगायतका केही काम भने बाँकी छन् ।

अहिले यहाँका कृषकहरूले बीउ जोगाउन प्रदेश नं. ५ को बाँकेस्थित कोहलपुुरमा रहेको कोल्ड स्टोरमा पठाउने गरेका छन् । अब आलुलगायतका बीउ कोल्ड स्टोरमा राख्न कोहलपुर पठाउनुपर्ने बाध्यता हट्ने कृषक समूहका सदस्य लक्ष्मी पौडेलले बताइन् । नवनिर्मित कोल्ड स्टोरमा फलफूल, तरकारी र बीउहरू पाँचदेखि ६ महिनासम्म राख्न सकिनेछ । समूहले कोल्ड स्टोर सञ्चालनका लागि कार्यविधि बनाइएको छ । जसअनुसार एक जना कृषकले फलफूल, तरकारी र बीउ राखेवापत प्रति केजी साढे चार रूपैयाँ शुल्क तिर्नुपर्ने छ । कोल्ड स्टोरमा फलफूल तथा तरकारी ग्रेडिङ्ग गरेर राखिनेछ । कर्णालीमा सबैभन्दा ठूलो र पहिलो कोल्ड स्टोर निर्माण भएपछि यहाँका कृषकहरूले उत्पादन गरेका तरकारी तथा फलफूल अब कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएकोे छ ।

प्रकाशित मितिः   १४ श्रावण २०७७, बुधबार ०६:०३