पहिरोले जनधनको क्षति

सोमवार राती परेको अविरल वर्षापछि आएको पहिरो र बाढीले कर्णालीका दुई जिल्ला रुकुम–पश्चिम र कालीकोटमा धनजनको क्षति गरेको छ । पहिरोले घर बगाउँदा रुकुम–पश्चिममा दुई जनाको ज्यान गएको हो । जिल्लाको बाँफीकोट गाउँपालिका–९ स्यालामा मंगलवार बिहान घरमाथिबाट पहिरो आउँदा दुई युवाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको थियो । पहिरोले घर बगाउँदा जसवीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकीका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमका प्रमुख (डीएसपी) ठगबहादुर केसीले जानकारी दिए ।

पहिरोले घर बगाएको ५ घण्टा पछि नवीन र बलबहादुरको शव भेटिएको थियो । उक्त घटनामा अन्य चार जनाको उद्धार गरिएको डीएसपी केसीले जानकारी दिए । घरभन्दा १० मिटरमाथिबाट आएको पहिराले उक्त घर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पु¥याएको छ । घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जीवितै उद्धार गरेका थिए भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए ।

यस्तै, कालीकोटको रास्कोट नगरपालिकामा पहिरोसहितको बाढीले चार घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । सोमवार रातिदेखि परेको अविरल वर्षाका कारण रास्कोट–१ स्थित बम्हतोलमा रहेको जयबहादुर शाहीको घर बगाउँदा एकै घरका पाँच जना र सोही वडाका टेक टमटाको घर बगाउँदा एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।
त्यस्तै नगरपालिकाको वडा नं. ९ मा रहेको विष्णुबहादुर बुढ्थापा र पदमबहादुर बुढ्थापाको दुईतले पक्की घरसहित सोही स्थानमा रहेको पुल समेत बाढीले बगाएको प्रहरी निरीक्षक जोशीले बताए । सोमवार साँझ यो समाचार तयार पार्दासम्म बेपत्ताहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।