रजिस्ट्रार र डीनको खुला विज्ञापन

मध्य– पश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रार र डीनका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले पहिलो पटक पदाधिकारीको नियुक्ति प्रक्रियाका लागि खुला विज्ञापन गरेको हो । रजिस्ट्रार र चार सङ्कायका डीनको लागि दरखास्त आह्वान गरिएको छ । विश्वविद्यालयद्वारा प्रकाशित सूचनाअनुसार रजिस्ट्रारका लागि ७ दिन र डीनका लागि १० दिनको दरखास्त दर्ता गर्ने म्याद दिइएको छ । रजिस्ट्रारको हकमा शैक्षिक प्रशासनमा विशिष्टतासहित भिजन पेपर पेस गर्नुपर्ने मापदण्ड तोकिएको छ भने डीनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सम्बन्धित सङ्कायका प्राध्यापक वा सम्बन्धित सङ्कायमा सेवा गरेका सहप्राध्यापक वा मान्यता प्राप्त विश्वविद्यालयका सम्बन्धित सङ्कायका प्राध्यापक वा सहप्राध्यापक हुनुपर्ने र भिजन पेपर पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

विश्वविद्यालयका रजिस्ट्रारको कार्यकाल यही असार २५ गते सकिँदै छ भने चार वटा सङ्कायका डीनको पद रिक्त छ । विश्वविद्यालय स्रोतका अनुसार मानविकी तथा सामाजिकशास्त्र सङ्काय र विज्ञान तथा प्रविधि सङ्कायका डीनको गत चैत २७ तथा व्यवस्थापन सङ्कायका डीनको जेठ १७ गतेदेखि पद रिक्त छ । यी सङ्काय हाल निमित्त डीनमार्फत् सञ्चालन भइहेका छन् । शिक्षाशास्त्र सङ्कायका डीनको पद असार २४ गते रिक्त हुँदैछ । रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ल निलम्बनमा परेपछि शिक्षाशास्त्र सङ्कायका डीन यामबहादुर कार्की निमित्त रजिस्ट्रारको रूपमा कार्यरत छन् । मल्लको कार्यकाल असार २८ गतेसम्म रहेको छ ।

मध्य– पश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ को दफा २५ बमोजिम रजिस्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिबाट हुने प्रावधान छ । डीनहरूको नियुक्ति भने कार्यकारी परिषद्को निर्णयअनुसार उपकुलपतिबाट हुने व्यवस्था छ । हालसम्मको अभ्यासमा रजिस्ट्रार पदका लागि उपकुलपतिको नजरमा परेका तीन जनालाई सिधै कुलपति समक्ष सिफारिस गर्ने गरिएको थियो । यस पटक पदाधिकारी खुला प्रतिस्पर्धाबाट छनोट गरेर सिफारिस गर्न लागेको हो । नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन तथा योग्य पदाधिकारी नियुक्त गर्न खुला दरखास्त आह्वान गरिएको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मितिः   २३ असार २०७७, मंगलवार १२:२८