जुम्लामा ९० प्रतिशत रोपाइँ सकियो

जुम्लामा करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँ जेठको पहिलो हप्तादेखि नै धान रोप्न सुरु हुन्छ । यतिबेला जुम्लाको सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोला क्षेत्रमा मार्सी धानको रोपाइँ लगभग सकिएको हो । कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको धान रोपाइँ भएको छ ।

मार्सी यहाँको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार यस वर्ष जिल्लामा दुई हजार सात सय ५० हेक्टर जमिनमा धान रोपिएको अनुमान रहेको बताए । अघिल्लो वर्ष दुई हजार आठ सय हेक्टरमा धान रोपिएको थियो ।

जिल्लामा पचास हेक्टरमा तरकारी खेती गरिएको छ । तलीचौर, कुडारी र रारालिहीका किसान तरकारी खेतीतिर आकर्षित भएको हुनाले यस वर्ष धान रोप्ने क्षेत्रफल ५० हेक्टर घटेको प्रमुख देवकोटाले बताए । चन्दननाथ र गुठीचौरमा पूरै रोपिसकिएको छ भने कुडारी, रारालिही र सिंजामा केही रोपाइँ हुन बाँकी छ । सिंजामा असार १० गतेसम्म पनि रोपाइँ चल्ने गरेको छ ।

प्रकाशित मितिः   ७ असार २०७७, आईतवार ०६:०५