शीर्ष नेताबाटै गुट– उपगुटको राजनीति


काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको २१ महिनापछि केन्द्रीय कमिटीको बैठक पाँच दिनसम्म बस्यो । केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे । महासचिव विष्णु पौडेलले पार्टीको विधान संशोधन तथा सांगठनिक प्रतिवेदन पेश गरे ।

पाँच दिनसम्म चलेको बैठकका क्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दुई पटक सम्बोधन गरे । ओलीले सम्बोधनका क्रममा पार्टी एकतापछिको अवस्थाबारे चर्चा गरे भने आफ्नै नेतृत्व सरकारको कामको प्रशंसा गर्न पनि भ्याए । ओलीले राजनीतिक प्रतिवेदनबारे सम्बोधनकै क्रममा एकताको दुई वर्ष पुग्न लाग्दा पनि मुखबाट फ्याट्ट तत्कालीन एमाले फुत्कने भन्दै कटाक्ष गरे ।

त्यसो त पार्टीको स्थायी कमिटीदेखि केन्द्रीय कमिटीको बैठकसम्म आउँदा अध्यक्षद्वयको प्रतिवेदनमा गुट–उपगुट मौलाएको कुरा चर्को रूपमा उठेका थिए । पार्टीमा पछिल्लो समय शीर्ष नेताहरू नै गुटगत रूपमा लागेको भन्दै केन्द्रीय कमिटीको बैठकमा चर्को विरोध भयो । बैठकमा प्रधानमन्त्री ओलीका प्रेस संयोजक तथा केन्द्रीय सदस्य सूर्य थापाले पार्टी एकतापछि अध्यक्ष दाहालले गुटको राजनीति मात्रै गरेको आरोपसमेत लगाए । बैठकमा अर्का केन्द्रीय सदस्य हिमाल शर्माले शीर्ष नेताबाट नै गुटबन्दी भएको भन्दै चर्को आलोचना गरे । शीर्ष नेताहरूले आफैंले गुटबन्दी गरेर गुटबन्दी भयो भन्नु हाँस्यास्पद भएको भन्दै केन्द्रीय सदस्यहरूले चर्को आलोचना गरे । केन्द्रीय सदस्यहरूले गुटबन्दी गरेर व्यापार व्यवसाय र आम्दानी गर्नतिर नेतृत्व लागेको आरोपसमेत लगाए ।

बैठकमा केन्द्रीय सदस्यहरूले शीर्ष नेताहरूबाटै गुटबन्दी भएको भन्दै चर्को आलोचना गरे । तर, प्रधानमन्त्री ओली पार्टीभित्र गुटबन्दी नभएको दाबी गर्दै मिडियाले बाहिर गलत सन्देश प्रवाह गरेको आरोप लगाए । केन्द्रीय कमिटीको बैठक समापनका बोल्दै उनले मिडियाले आफूखुशी टाउको गनेर नेताहरूलाई शीर्ष नेताको भागमा लगाएको भन्दै असन्तुष्टि जनाए ।

प्रकाशित मितिः   २१ माघ २०७६, मंगलवार ०५:०१