एमसीसी अध्ययन कार्यदललाई चार क्षेत्राधिकार

काठमाडौं : नेकपाभित्र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न नहुने विषयमा बलियो मत छ । पारित गर्नैपर्छ भन्ने मत पनि कमजोर छैन । यस्तो स्थितिमा एमसीसीलाई संसद्बाट पारित गर्ने या नगर्ने विषयमा मत बाँझिएपछि सत्तारुढ नेकपाले पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

एमालेकालमा पार्टीको विदेश विभाग प्रमुख समेत भइसकेका खनाल नेतृत्वको कार्यदलमा विदेश मामिलामा दख्खल राख्ने दुई नेता भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् । यसमध्ये ज्ञवाली परराष्ट्र मन्त्री नै छन् भने रावल पनि एमालेकालमा विदेश विभागमा रहेर काम गरेका नेता हुन् । केन्द्रीय कमिटी बैठकबाटै गठन भएको खनाल नेतृत्वको कार्यदललाई पार्टीले ४ विषयमा केन्द्रित रहेर अध्ययन अघि बढाउन नेकपाले जिम्मेवारी दिएको छ । कार्यदलले पाएको पहिलो जिम्मेवारी हो, ‘एमसीसी भनेको के हो ? भन्ने बारेमा अध्ययन गर्नु । उसको दोस्रो जिम्मेवारी चाहिँ ‘एमसीसीले नेपालमा के गर्न खोजेको छ, उसको उद्देश्य के हो ? त्यो पत्ता लगाउनु हुनेछ । कार्यदलको तेस्रो जिम्मेवारी ‘एमसीसीबारे नेपालसँगका सन्धी–सम्झौता के हुन् ? भन्ने कोणबाट अध्ययन गर्नु हुनेछ । चौथो जिम्मेवारी चाहिँ ‘एमसीसीले नेपालको राष्ट्रिय हितमा असर गर्छ कि गर्दैन वा राष्ट्रिय हित अनुकूल छ कि छैन ? भन्ने कुराको निश्कर्ष दिने गरी अध्ययन गर्नु हुनेछ ।

प्रकाशित मितिः   २१ माघ २०७६, मंगलवार ०५:००