लगानी भित्र्याउन पहल

कर्णाली प्रदेश सरकारले गत वर्ष नै लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सम्मेलन आयोजनाका लागि बजेट समेत विनियोजन भयो । तर आयोजना गर्न भने असमर्थ रह्यो । चालु आर्थिक वर्षको बजेट र योजनामा पनि लगानी सम्मेलन आयोजना गर्ने याजना समेटिएको छ । तर आधा वर्ष सकिँदासम्म यसका लागि कुनै पहल भने गरिएको छैन । योजना केवल निर्णयमै सीमित भएको छ ।

लगानी सम्मेलनको मुख्य उद्देश्य बाह्य लगानी भित्र्याउनु हो । जुन कर्णालीको विकासमा अपरिहार्य छ । विकासमा पछि परेको प्रदेशमा ठूलो लगानी भित्र्याउन जरुरी छ । यसका लागि लगानी सम्मेलन गरी लगानीकर्ता भित्र्याउनु उपयुक्त विकल्प हुन सक्दछ । कर्णालीमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि इच्छुक देखिएका छन् । यहाँको कृषि, जडिबुटी, जलविद्युत र पर्यटन जस्ता क्षेत्रमा लगानी गर्नका लागि विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्न सकिने सम्भावना रहेको छ । विभिन्न समयमा विभिन्न देशका लगानीकर्ता कम्पनीहरुले पनि कर्णालीको अध्ययन अवलोकन गरिसकेका छन् । तर तिनलाई लगानी गर्ने वातावरण सिर्जना गर्न राज्य चुकिरहेको छ ।

लगानी क्षेत्र कर्णालीमा प्रशस्त छन् । यदि बाह्य लगानी ल्याउन सक्ने हो भने कर्णाली प्रदेशको मात्र नभएर समग्र मुलुककै विकासमा ठूलो सघाउ पुग्न सक्दछ । जलविद्युत, पर्यटन, कृषि र जडिबुटीमा हुने लगानी प्रदेशको मात्र हुँदैन । ठूलो उद्योगहरु सञ्चालनतर्फ पनि लगानी गर्न सके त्यसले यहाँको अर्थतन्त्रको विकास गर्नेछ । औद्योगिक विकासले रोजगारीका अवसर सिर्जना गर्दछ । रोजगारी पाए नागरिकहरुको आर्थिक अवस्था सुधार हुन्छ । उनीहरुको जीवनस्तरमा सुधार आउँछ । नागरिकहरुले चाहेको पनि यही हो ।

यस क्षेत्रको आर्थिक विकासका लागि पनि कृषिमा लगानी बढाउन आवश्यक छ । कृषिमा सम्भावना पनि उत्तिकै छ । तर पछिल्लो समय खेतीयोग्य जमिन धमाधम प्लटिङ्ग गरी घर निर्माण गर्ने क्रम बढेको छ । यसलाई नियन्त्रण गर्नुका साथै आधुनिक कृषि प्रणालीको विकास गरी नयाँ–नयाँ र यस क्षेत्रको माटो र हावापानी सुहाउँदो बाली उत्पादनमा जोड दिन जरुरी छ । तर यसका लागि सबैभन्दा पहिलो लगानीमैत्री वातावरणको निर्माण गर्नुपर्दछ । लगानीमैत्री वातावरण नपाएको खण्डमा उनीहरुले यहाँ लगानी गर्ने छैनन् । यसतर्फ सम्बन्धित सबैले ध्यान दिन आवश्यक छ । नीतिगत रुपमा पनि लगानीकर्ताहरुलाई आकर्षित गर्ने योजना बनाउन सरकार अघि सर्नुपर्छ । साथै दुई वर्षदेखि बजेट समेत विनियोजन गरिएको लगानी सम्मेलन आयोजना गर्न अब ढिला गर्नु हुँदैन ।

प्रकाशित मितिः   २१ माघ २०७६, मंगलवार ०५:०३