शिक्षकमाथि कुटपिट

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक कुटिएका छन् । विद्यालयमा कार्यरत शिक्षक नन्दप्रसाद शर्मा आचार्यलाई सोही ठाउँका यामलाल आचार्यले विद्यालयमै पुगेर कुटपिट गरेको पीडित शिक्षक शर्माले बताएका छन् । यसैबीच मदिरा सेवन गरेर विद्यालयमा पुगेका आचार्यले गालीगलौज गर्नुका साथै कुटपिट गरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतले विरोध जनाएको छ । बिहीवार प्रेस विज्ञप्तीमार्फत संगठनले शिक्षक कुट्ने आचार्यमाथि कारबाहीको माग समेत गरेको छ ।

आफ्ना आजीवन सदस्य समेत रहेका शिक्षक शर्मालाई विनाकारण बेहोस हुने गरी कुटपिट गरिएको भन्दै संगठनले यस्तो क्रियाकलाप निन्दनीय भएको टिप्पणी गरेको छ । अध्यक्ष रत्नबहादुर बुढा र सचिव डिलाराम भण्डारीद्वारा जारी विज्ञप्तीमा विद्यालयजस्तो पवित्रस्थलमा शिक्षक तथा विद्यालय कर्मचारीमाथि पटक–पटक अभद्र व्यवहार हुने गरेको घटनाहरूप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ । ‘विद्यालयमा पठनपाठनको लागि शान्ति क्षेत्र बनाई त्रासविना शैक्षिक कार्य गर्नसक्ने वातावरण र सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौं’ विज्ञप्तीमा लेखिएको छ ।

प्रकाशित मितिः   १० माघ २०७६, शुक्रबार ०५:००