चिट चोराउने जनप्रतिनिधिसहित तीन जना पक्राउ

उदयराज अधिकारी,
दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकामा गत महिना भएको शिक्षक नियुक्तिका क्रममा बदमासी भएको तथ्य खुलेको छ । शिक्षक नियुक्तिका क्रममा रकम लेनदेन भएको पनि खुलेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेका निर्वाचित वडा सदस्य भक्तबहादुर शाहीले परीक्षा सुरु हुनु पहिले प्रश्नपत्र आउट गरेको तथ्य बाहिरिएको हो । डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपलचौतारा माध्यमिक विद्यालयमा सामाजिक विषयको राहत शिक्षक नियुक्तीमा आफन्त राख्ने नाउँमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा सदस्यले परीक्षा हुनुभन्दा पहिले प्रश्नपत्र ‘आउट’ गरेको पुष्टि भएको हो ।

पुस २६ गते परीक्षा सञ्चालन हुने तयारी भएकै अघिल्लो दिन पुस २५ गते प्रश्नपत्र निर्माण गरिएको थियो । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीले फेसबुक म्यासेन्जरमार्फत घनश्याम भण्डारीलगायत अन्य पाँच परीक्षार्थीलाई प्रश्न र टिक मार्कको उत्तरसमेत पठाएको खुलेको छ । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षले नियुक्ती गरेका विज्ञहरू तथा विद्यालय निरीक्षक लगायत बसेर प्रश्नपत्र तयार गरिएको थियो । ती प्रश्नपत्रको विद्यालय व्यवस्थापन समितिका अध्यक्षले फोटो खिचेर परीक्षार्थीहरूलाई पठाएका हुन् ।

स्थानीयले यसबारेमा अख्तियारमा उजुरी गरेका थिए । त्यही आधारमा अख्तियारले छापा मारेर तीनजनालाई पक्राउ गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको अनुसन्धानमा छनोट भएका शिक्षक घनश्याम भण्डारी, वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तरकुञ्जिका पठाएको खुलेको हो । अध्यक्ष शाहीसहित नियुक्त भएका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई हिरासतमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । स्थानीय श्याम रानाका अनुसार विगतदेखि नै जनप्रतिनिधिहरूले आफ्ना मान्छे राख्न कर्मचारीहरूलाई दबाब दिने गरेका थिए । परीक्षार्थीबाट मोटो रकम असुलेर आफन्तलाई पास गराउने बढेको गुनासो आएको थियो । गाउँपालिकामा गुनासो गर्दा पनि स्थानीय सरकारले सुनुवाइ नगरेपछि अख्तियारलाई गुहारिएको हो ।

डुङ्गेश्वर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र खड्काले परीक्षामा आमन्त्रित सदस्यको रूपमा उपस्थित हुन विद्यालयबाट जानकारी आएपछि आफू गएको बताए । उक्त घटनामा आफ्नो संलग्नता नरहेको बताउँदै उनले व्यवस्थापन समितिका अध्यक्षले प्रश्नपत्र आउट गरेको पछि मात्रै थाहा पाएको बताए । यता गाउँपालिकाका निमित्त शिक्षा शाखा प्रमुख विष्णु शर्माले पालिकाको तर्फबाट परीक्षा लिने स्थानमा गए पनि अन्य विषयमा जानकारी नभएको बताएका छन् ।

परीक्षा सञ्चालन गरिने स्थानीय तहका विद्यालयमा विद्यालय निरीक्षक (विनि) नभएको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाईबाट तोकिने नियम छ । तर डुङ्गेश्वर गाउँपालिकाले गुराँस गाउँपालिकाका विनिलाई परीक्षामा सञ्चालन गराउन बोलाएको पाइएको छ । गुराँस गाउँपालिकाका विद्यालय निरीक्षक भुपेन्द्र भण्डारीले पालिकाले पत्र पठाएको आधारमा डुङ्गेश्वर पालिकामा गएर परीक्षा सञ्चालन गरेको बताए । ‘कसको के सेटिङ थियो मलाई थाहा छैन’, उनले भने, ‘परीक्षा सञ्चालन गरिदिन पालिकाको पत्रका आधारमा म गएको हुँ । अरू कुनै विषयमा मेरो संलग्नता छैन ।’ अर्को पालिकाको विद्यालय निरीक्षक जाँदा शिक्षा तथा समन्वय इकाईबाट स्वीकृति लिनुपर्छ । तर यो प्रावधान पनि मिचेको देखिएको छ । नियम मिचेर पालिकामै परीक्षा दैलेखका ११ स्थानीय तहमध्ये ९ पालिकाभित्रका विद्यालयको शिक्षक नियुक्तिका लागि शिक्षा तथा समन्वय इकाईको प्रत्यक्ष संलग्नतामा प्रश्नपत्र बैंकमार्फत चिठ्ठाका आधारमा प्रश्न निकाल्ने विज्ञहरूको समूह निर्माण गरिनुपथ्र्यो । तर डुङ्गेश्वर गाउँपालिकालगायत केही स्थानीय तहले स्वयम् परीक्षा चलाएको शिक्षा विकास तथा समन्वय इकाई दैलेखले जनाएको छ ।

प्रकाशित मितिः   १० माघ २०७६, शुक्रबार ०५:००