दाहालको अडान कायमै, चेपुवामा ओली

 काठमाडौं : लामो समयदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सभामुखको उम्मेदवार चयन पेचिलो बनिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच समझदारी बन्न नसकेका कारणले सभामुख चयन गर्न नसकेको हो । पार्टी एकतापछि भागमा परेको भन्दै तत्कालीन माओवादी केन्द्रले सभामुखमा दाबी गरेपछि प्रधानमन्त्री ओलीले अप्ठेरोमा परेका छन् । ‘ओलीले संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङको पक्षमा अडान लिनुभएको छ । तर, अध्यक्ष दाहाल त्यसको पक्षमा हुनुहुन्न’ नेकपाको पूर्व–माओवादीका एक स्थायी कमिटी सदस्यले भने, ‘तत्कालीन माओवादीले कुनै पनि हालतमा सभामुख गुमाउने पक्षमा छैन । त्यसको लागि प्रधानमन्त्री ओलीले पार्टी एकताको बेलामा भएका समझदारीलाई सम्झनुपर्छ ।’ उनका अनुसार तत्कालीन एमालेलाई सभामुख छोड्दा प्रधानमन्त्री उहाँले छोड्नुपर्छ । उहाँले प्रधानमन्त्री र सभामुख दुवै आफै राख्नको लागि बखेडा झिकेको उनको भनाइ छ ।

तर, प्रधानमन्त्री ओलीलाई पूरै कार्यकाल प्रधानमन्त्रीको जिम्मेवारी दिएर पार्टीको कार्यकारी अध्यक्षको भूमिका लिइसकेकोले दाहाललाई पनि संकट परेको उनको भनाइ छ । ‘अध्यक्ष दाहाललाई पार्टीको कार्यकारी भूमिका निर्वाह गर्नेबेलामा भएको समझदारीले समस्यामा पारेको छ । तर, प्रधानमन्त्रीले पार्टी एकताको बेलामा भएको भागवण्डामा अहिले थप भाग खोज्नु जायज हुँदैन ।’ प्रधानमन्त्रीले नेम्वाङको पक्षमा अडान राखेर विकल्पमा उप–सभामुख शिवमाया तुम्बाहाङ्फेलाई दिने पक्षमा देखिएका छन् ।

उप–सभामुखको पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत लागिरहेको हुनाले दोस्रो विकल्पमा प्रधानमन्त्री ओलीले उप–सभामुखलाई लिएको स्रोतको दाबी छ । तर, पार्टी एकतामा माओवादी केन्द्रको भागमा परेको सभामुखमा प्रधानमन्त्री ओलीले आफ्नै पक्षको व्यक्तिलाई पटक–पटक उभ्याउँदा प्रधानमन्त्री ओलीसँग अध्यक्ष दाहाल विलखबन्दमा परेका छन् । तत्कालीन माओवादी केन्द्रभित्र सभामुखको दौडमा अग्निप्रसाद सापकोटा, देव गुरुङ, पम्फा भुषाललगायतको नेताहरू छन् । यद्यपि, तत्कालीन माओवादीभित्र सभामुखको आकांक्षी धेरै देखिए पनि अध्यक्ष दाहालले सभामुखमा स्थायी कमिटी सदस्य सापकोटाको पक्षमा दरिलो अडान लिएका छन् । तत्कालीन माओवादी केन्द्रले यसरी सभामुख छोड्ने पक्षमा नदेखिएपछि प्रधानमन्त्री ओली थप संकटमा परेका छन् । ओली–दाहाल आ–आफ्नो व्यक्तिको अडानबाट पछि नहट्ने संकेत देखाएपछि नेकपाले सभामुखको उम्मेदवार तोक्न सकेको छैन । यसले संसद्को बैठक मात्र अनिश्चित बनेको होइन स्वयम् नेकपाको सचिवालय समेत अनिर्णयको बन्दी बनेको छ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले दुईजना अध्यक्षले नाम प्रस्ताव गर्नासाथ सचिवालय निर्णय गर्न तयार रहेको बताएका छन् ।

सभामुखको उम्मेदवारको टुङ्गो नलागेसम्म उप–सभामुखबाट राजीनामा नदिने अडानमा उप–सभामुख तुम्बाहाङ्फे छिन् । उप–सभामुखको हैसियतले स्वतः सभामुखको उम्मेदवारको दाबी गरिहेको बेलामा उम्मेदवारको टुङ्गोपछि मात्रै राजीनामा दिने अडानले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल चेपुवामा परेका छन् । अध्यक्ष दाहालको अडान, पार्टी एकतापछिको समझदारी, उप–सभामुखको अडानको कारणले प्रधानमन्त्री ओलीलाई सकसको घेरामा परेको छन् । नेकपाभित्रको शीर्ष नेताहरूको व्यक्तिगत हानथापले प्रतिनिधिसभाको संसद् बैठक समेत बस्न सकेको छैन । नेकपाले रिक्त रहेको सभामुखको उम्मेदवार छान्न नसक्दा संसद् बैठक तीन पटक स्थगित भएको छ । नेकपाले सभामुख चयन नगरेर संसद्लाई बन्धक बनाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, समाजवादीलगायत साना दलले समेत चर्को विरोध जनाइरहेका छन् ।

ओली–दाहालबीच जुटेन सहमति सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । पार्टीभित्र सभामुखको उम्मेदवार चयनको विषयले रडाको मच्चिरहेको बेलामा बिहीवार उनीहरूले भेट गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । भेटका क्रममा सभामुखको विषयमा छलफल भएको स्रोतको दाबी छ । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल परेपछि नेकपाभित्र सभामुख चयनको विषय प्रवेश भएको थियो । तर, ओली र दाहालको आ–आफ्नै अडानले नेकपाले सभामुख चयन गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा छन् । तर, अध्यक्ष दाहाल अग्निप्रसाद सापकोटालाई बनाउनुपर्ने अडान कसिरहेका छन् । पार्टी एकतापछि तत्कालीन माओवादी केन्द्रको भागमा परेको हुनाले प्रचण्डले आफ्नो भाग नछोड्ने अडानमा छन् । यता, दुई शीर्ष नेताहरूको विवादमा उप–सभामखु शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखको दाबी नछोड्दा नेकपाले सभामुख चयन गर्न सकेको छैन । सचिवालयको निर्णयमार्फत उप–सभामुख तुम्वाहाङ्फेलाई राजीनामा गराउने निर्णय भए पनि उनले सभामुखको टुङ्गो लागेपछि मात्रै राजीनामा दिने अडानमा छिन् । पछिल्लो समय सभामुख र पार्टीभित्र विवादमा रहेको एमसीसी विवादको कारणले ओली र प्रचण्डको सम्बन्धसमेत चिसिएको उनीनिकट स्रोत बताउँछ । आ–आफ्नै अडानले छलफलमा समेत नबसेको ओली र दाहाल पुनः बिहीवार छलफलमा जुटेका हुन् । तर, उनीहरूको छलफलबाट कुनै पनि विषयले पूर्णता पाउन सकेन ।

प्रकाशित मितिः   ३ माघ २०७६, शुक्रबार ०८:०१