२२औं भूकम्प दिवस मनाइयो

सुर्खेत : कर्णाली प्रदेश सरकारले २२औँ भूकम्प दिवस मनाएको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मन्त्री नरेश भण्डारीले विश्वमा सुरक्षा प्रविधिको प्रयोग हुँदै आएकोले नेपालमा पनि त्यसको आवश्यक भएको बताए । उनले बढी भन्दा बढी प्रविधिको प्रयोग गरी भूकम्पप्रतिरोधी घरहरू निर्माणमा जोड दिनुपर्ने बताए । एक दिन आयोजना गरिने भूकम्प दिवसले पनि नागरिकमा भूकम्पप्रतिको जिज्ञासा बढ्ने बताए ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले दिवसलाई दिवसका रूपमा मात्रै मनाउनुभन्दा जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले नागरिकलाई सुरक्षित घर निर्माणमा प्रेरणा दिनुपर्ने भनाइ राखेका थिए । कार्यक्रममा प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी सहभागी रहेका थिए ।

प्रकाशित मितिः   ३ माघ २०७६, शुक्रबार ०७:५९