प्रहरीमा एक हजार जनाका लागि भर्ना खुल्यो

काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेका विभिन्न पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न कूल एकहजार आठसय पाँच जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी निरीक्षकमा एक सय ४९ जना, प्रहरी सहायक निरीक्षकमा पाँच सय ८४ जना र प्राविधिक समूहअन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवानमा एक हजार ७२ जनाका लागि दरखास्त आह्वान गरिएको हो ।

प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र सातै वटा प्रदेश प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । यस्तै, प्राविधिक प्रहरी जवान पदका लागि महानगरीय प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगन्ज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले माघ ५ गतेदेखि फागुन ११ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । उक्त भर्नासम्बन्धी विस्तृत विवरणसहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको जनाइको छ ।

प्रकाशित मितिः   ३ माघ २०७६, शुक्रबार ०७:५७