विद्यालय सुधारका लागि प्रधानाध्यापक सम्मेलन

 

सुर्खेत : तीन प्रदेशका आठ जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ । सेभ द चिल्ड्रेनको आयोजनामा दुई दिने सम्मेलन गरिएको हो । सम्मेलनमा कर्णाली प्रदेशका कालिकोट, दैलेख, जाजरकोट र सुर्खेत सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा तथा प्रदेश नं. ५ का बाँके र रोल्पा जिल्लाबाट ८५ भन्दा बढी प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो । सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर वि.के.ले हरेक पालिकामा प्रधानाध्यापकहरूले सिकाइ कार्यढाँचा निर्माण र कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए । साथै प्रधानाध्यापक नै विद्यालय सुधारको खम्बा भएको भन्दै आफ्नो जिम्मेवारी अनुसार काम गर्न सुझाव दिए ।

यसैगरी प्रा.डा. मनप्रसाद वाग्लेले प्रधानाध्यापकहरूलाई विद्यालय रहेको स्थानीय तहसँगको समन्वय अपरिहार्य रहेको औल्याए । साथै अब विद्यालयले तीन तहका कानून कार्यान्वयन गर्नुपर्ने बताए । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक भक्तबहादुर ढकालले विद्यालय र पालिका साझेदारी गरी गुणस्तर सुधारका लागि लाग्नुपर्नेमा जोड दिए । सेभ द चिल्ड्रेनका एशोसियट डाइरेक्टर धन भुसालले परिवर्तित सन्दर्भमा आएका शिक्षासँग सम्बन्धित नीति, नियमका बारेमा जानकारी गराउनु सम्मेलनको उद्देश्य रहेको बताए । यस्तै एक विद्यालयले गरेका राम्रा अभ्यासलाई अरु विद्यालयहरूले सिक्ने अवसर प्रदान गर्नु, भावी कार्यदिशा तय गर्न सम्मेलनले सघाउ पु¥याएको उनको भनाइ थियो ।

साथै सम्मेलनले १६ बुँदे सुर्खेत घोषणा–पत्र समेत जारी गरेको छ । राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार, बालविकासदेखि कक्षा ८ सम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तह निःशुल्क गर्ने प्रावधान अनुसार आफ्नो विद्यालय सेवाक्षेत्रका विद्यालय उमेर समूहका सम्पूर्ण बालबालिकालाई स्थानीय सरकारको समन्वय र सहकार्यमा विद्यालय पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता प्रधानाध्यापकहरूले गरेका छन् । यसैगरी विद्यालयमा सबै बालबालिकाको निरन्तरता सुनिश्चित गर्ने, सिकाइ उपलब्धीलाई केन्द्रमा राख्दै विद्यालय सुधार योजना निर्माण, कार्यान्वयन र समय–समयमा समीक्षा गर्ने, अभिभावकलाई बालबालिकाको भर्ना, निरन्तरता र घरमा पढ्ने वातावरण सुनिश्चित गर्ने कार्यमा जिम्मेवार गराइ विद्यालय सुधारका कार्यमा संलग्न गराउने, आफ्नो विद्यालय रहेको गाउँपालिका वा नगरपालिकाको गुणस्तर सिकाइ कार्यढाँचा निर्माण र कार्यान्वयन गर्न सहयोग, समन्वय र सहजीकरण गर्ने लगायतका प्रतिबद्धता उनीहरूको छ ।

प्रकाशित मितिः   २९ मंसिर २०७६, आईतवार १४:०९