बालविवाह रोक्न प्रशिक्षण

सुर्खेत : कर्णाली प्रदेशमा बालविवाह न्यूनीकरणका लागि धार्मिक गुरूहरूलाई प्रशिक्षण दिन थालिएको छ । बुधवारदेखि प्रदेशका दशवटै जिल्लाहरूमा कार्यक्रम सुरू गरिएको हो । नेपाली परम्परा अनुसार पण्डित विवाहमा प्रत्यक्ष सहभागी हुने भएकोले नागरिकता वा जन्मदर्ता हेरेर मात्रै विवाह गरिदिने परम्परा बसाल्नको लागि यो कार्यक्रम सुरू गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले बताए । विभिन्न धर्मअनुसार लामा, पण्डित तथा पास्टरहरूलाई प्रशिक्षण दिन थालिएको हो । ‘विवाहमा पण्डितको पूर्ण सहभागिता हुन्छ’ उनले भने ‘पण्डितहरूले विवाह गर्नु पूर्व नागरिकता र जन्मदर्ता मागेर गर्ने संस्कार बसाले भने कर्णाली बालविवाहमुक्त हुन्छ ।’

बालविवाहको असर, बालविवाह गर्ने गराउनेलाई हुने कारबाहीको बारेमा पण्डितहरूलाई प्रशिक्षणमा जानकारी गराइने जोशीले जानकारी दिए । यो कार्यक्रम आगामी २४ गतेसम्म सञ्चालन हुने र कार्यक्रममा कर्णाली प्रदेशका चार सय ४४ जना पण्डितहरूको सहभागिता हुने उनले बताए । जिल्ला प्रहरी कार्यालयहरूले स्थानीय तहहरूसँग समन्वय गरेर कार्यक्रम गर्ने योजना बनाएको छ । कर्णाली बालविवाहको जोखिममा रहेको प्रदेश भएकोले नयाँ कार्यक्रममार्फत बालविवाह न्यूनीकरणमा लागेको उनको भनाइ छ । यो कार्यक्रम देशभरमै नयाँ भएको समेत डीआईजी जोशीले बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधवार नै करिब एक सय पण्डितहरूलाई प्रशिक्षण दिएको छ । सिम्ता गाउँपालिकामा सात जना र वीरेन्द्रनगरमा ९३ जनालाई प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले बताए । उनले बालविवाह लगायत सामाजिक कुरितीहरू बोक्सी र जातीय छुवाछुतको विषयमा समेत उनीहरूलाई प्रशिक्षण गराइएको बताए । प्रशिक्षण कार्यक्रममा सहभागी पण्डित आदित्यराज उपाध्यायले प्रशिक्षणले धेरै कानुनी कुराहरू थाहा भएको बताए । समाजमा कसैको विवाहमा जाने अवसर पाइयो भने कानुनी कुराको सँग–सँगै विवाहमा उमेर पहिचान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुलुकी फौजदारी ऐन २०७४ को दफा १७३ बमोजिम बालविवाह गर्ने गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः   २१ कार्तिक २०७६, बिहीबार ०९:३९