भेरी–बबई आयोजना

बजेटको अभाव हुँदैनः मन्त्री पुन

सुर्खेत : उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले भेरी–बबई बहुउद्देश्यीय आयोजना निर्माणमा बजेटको अभाव हुन नदिने बताएका छन् । बुधवार आयोजनाको स्थलगत अनुगमन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् । उनले राष्ट्रिय गौरवको आयोजना भएकाले निर्धारित समयमै सम्पन्न गर्न निर्देशन समेत दिए । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निगरानीमा राष्ट्रिय गौरवका योजनाहरू निर्माण भइराखेकाले बजेट र जनशक्तिको अभाव हुन नदिने दावी पनि गरे । बाँध, विद्युत गृहलगायतका संरचनाहरू सँग–सँगै निर्माण गर्ने प्रक्रिया सुरु गरिएको पुनले जानकारी दिए । उर्जामन्त्री पुनले जनताको जलविद्युत आयोजना अन्तर्गत छुट्टै कम्पनी दर्ता गरेर हात्तीखालमा ४८ मेगावाट विद्युत उत्पादन गरिने बताए ।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत निर्माण सम्पन्न गरिएको राष्ट्रिय गौरवको भेरी–बबईको १२.२ किलोमिटर लामो सुरुङ्गमार्ग उनले ‘मोनोरेल’मार्फत अनुगमन गरेका थिए । भेरीगंगा नगरपालिकाको हात्तीखालबाट मोनोरेल चढेका मन्त्री पुन एक घण्टा लगाएर चिप्ले पुगेका थिए । हात्तीखाल सुरुङ्गमार्गको निकास हो भने, चिप्ले प्रवेशद्वार हो । सुरुङ्गमार्गको वैशाख ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले
‘ब्रेक–थ्रू’ गरेका थिए ।

प्रकाशित मितिः   २१ कार्तिक २०७६, बिहीबार ०९:३७