उपकुलपतिका लागि २७ जनाको आवेदन

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को उपकुलपतिका लागि २७ जनाले आवेदन दिएका छन् । शिक्षा मन्त्रालयले कार्तिक ९ गते आवेदन आह्वान गरेपछि २७ जनाले आफ्नो विवरण पेश गरेका हुन् । उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको कार्यकाल सकिएपछि मन्त्रालयले नयाँ उपकुलपति नियुक्तिको लागि आवेदन माग गरेको हो । जसमा अधिकांश त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले आवेदन दिएका छन् । २७ मध्ये चार जना मात्रै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका छन् ।

एमयूका प्राध्यापकहरू केशरसिंह राना, दीपबहादुर रावल, खोपीराम लम्साल र अनन्तप्रसाद घिमिरेले आवेदन दिएका छन् । यीमध्ये विश्वविद्यालय सेवा आयोगका सदस्य राना र अनुसन्धान केन्द्रका निर्देशक रावलले विद्यावारिधी गरेका छन् । दुवै जना विश्वविद्यालयका पूर्व डीन हुन् । प्राध्यापक लम्साल मानविकी तथा सामाजिकशास्त्र र सह–प्राध्यापक घिमिरे इन्जिनियरिङ्ग संकायका डीन छन् । हालका निमित्त उपकुलपति तथा व्यवस्थापन संकायका डीन रहेका त्रिविका सह–प्राध्यापक मस्तबहादुर गरंजा र विज्ञान संकायका डीन देवबहादुर खड्काले पनि आवेदन दिएका छन् । मन्त्रालयका अनुसार त्रिविका नन्दबहादुर सिंह, विजय सिलवाल, बालमुकुन्द भण्डारी, प्रल्हाद कार्की, पर्शुराम मिश्र, यादव लामिछाने, विष्णुराज तिवारी, केशवराज पाण्डे, गोविन्द सुवेदी, विनयकुमार मिश्र, मोदराज बगालेलगायतले आवेदन बुझाएका छन् । आवेदनसाथ थुप्रै डकुमेन्टसमेत आएकाले विवरण तयार गर्न केही दिन लाग्ने जनाइएको छ ।

आठ वर्षअघि स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका महŒवपूर्ण पदाधिकारीमा एमयूबाहिरका जनशक्तिको बाहुल्यता रहँदै आएको छ । उनीहरू काजमा आउने गर्छन् । निमित्तसमेत गर्दा हालसम्म चार जना उपकुलपति, तीन जना रजिस्ट्रार र १५ जना डीन गरी २२ जना व्यक्ति पदाधिकारी नियुक्त भएकोमा एमयूका ६ जना मात्रै परेका छन् । अहिले पनि निमित्त उपकुलपतिमा त्रिविका गरंजा र निमित्त रजिस्ट्रारमा त्रिविकै यामबहादुर कार्की छन् ।

प्रकाशित मितिः   २० कार्तिक २०७६, बुधबार ०७:४२