सामाजिक कार्यमा नै समर्पित

हरेकले आ–आफ्नै इच्छा अनुसारको पेसा अङ्गालेका हुन्छन् । तर मलाई जीवनभर सामाजिक क्षेत्रमा नै काम गर्ने इच्छा छ । ग्रामीणक्षेत्रमा अवसरबाट वञ्चित भएका नागरिकहरुलाई विभिन्न खालको अवसर दिने मौका पनि पाएको छु । विपन्न अवस्थाका नागरिकहरूको जीवनस्तर उकास्ने खालका व्यावसायिक तालिमहरुले धेरैको जीवन बदलिएको छ । उहाँहरुततले पनि मलाई सम्मान गर्नुहुन्छ । त्यसैले पनि एकदमै खुशी लाग्छ ।
गगन खड्का

चिङ्गाड गाउँपालिका–५ सुर्खेतका गगन खड्का वि.सं. २०४६ साल जेठ १४ गते जन्मिएका हुन् । बुवा पठे खड्का र आमा रामकली खड्काको कोखबाट उनी घरको दोस्रो सन्तानका रूपमा जन्मिए । सानैदेखि सामाजिक सेवामा रुचि राख्ने उनी विगत नौ वर्षदेखि विभिन्न संघ–संस्थाहरूमा आवद्ध भएर काम गर्दै आएका छन् । विद्यालयस्तरमा पनि अनुशासित विद्यार्थीको रूपमा पुरस्कार जित्दै आएका खड्कालाई जागिरे जीवनमा पनि उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित हुने अवसर मिलेको छ । निरन्तरको मेहेनेत र अनुशासन उत्कृष्टताको बाटो भएको बताउने गगनले हाम्रा सहकर्मी सीता वलीसँग आफ्नो पेसागत जीवनको कथा यसरी साटे:

मेरो परिवार त्यति न्यूनस्तरको पनि होइन । ६ भाइ–बहिनी र आमा–बुवासहित आठ जनाको परिवारलाई बुवाले कृषि गरेर खान पुग्ने अवस्था थिएन । यसै पनि म सानै उमेरदेखि सामाजिक क्षेत्रलाई असाध्यै माया गर्ने मान्छे । विद्यालयमा हुँदा विभिन्न जनचेतनाका कार्यक्रमहरू गर्दै हिँडिन्थ्यो । मेरो बुवाले पनि मलाई तँ यो वा त्यो बन्नु भन्दा पनि जागिर खानुपर्छ भन्नुहुन्थ्यो । वि.सं. २०६३ सालमा एस.एल.सी. पास गरेपछि भने मलाई कृषि विषय पढ्न मन थियो । तर आर्थिक अभावकै कारण सुर्खेतमै बसेर नेपाली विषय लिएर पढ्नु पर्ने भयो ।

भाइ–बहिनी धेरै भएकोले जिम्मेवारी पनि म मा धेरै थियो । त्यसैले मैले प्रविणता प्रमाण–पत्र तह (प्लस टू) पढ्दादेखि नै वि.सं. २०६५ सालबाट जागिर सुरु गरें । सुरुमा मैले एउटा निजी कम्पनीमा काम गरें । विस्तारै २०६७ सालबाट म नागरिक सरोकारको क्षेत्रतर्फ लागेको हुँ । सानैदेखि म दयालु स्वभावको भएको कारण सामाजिक क्षेत्रमा काम गर्न पनि एकदमै सजिलो भयो । मैले करिब दुई वर्ष जति लघुउद्यम कार्यक्रम अन्तर्गत सिर्जनशील उद्यम विकास केन्द्रमा समेत काम गरेँ । त्यस्तै गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममा मुगु र जुम्ला गरी दुई वर्ष काम गरें । ग्रामीण क्षेत्रमा काम गर्दा स्थानीयहरूको धेरै माया र हौसला पनि प्राप्त भयो । त्यसपछि मलाई झनै सामाजिक क्षेत्रप्रति सकारात्मक भाव जाग्न थालेको हो  ।

मेरो उमेर त खासै धेरै भएको छैन । तर ग्रामीण क्षेत्रमा जन्मेको कृषकको छोराको लागि त्यो बेलाको १० रूपैयाँ पनि धेरै थियो जतिबेला म कक्षा ३ मा पढ्थें । बुवाले मलाई पहिलो पटक १० रूपैयाँ चप्पलको फिता किन्नको लागि दिनु भएको थियो । म यति खुशी भएको थिएँ कि मैले यस्तै सधैं पैसा भइराखोस् भनेर पूजा गरें । जीवनमा त्यस्ता खुशीका क्षणहरू पनि आउँछन्, जुन मेरो जीवनमा पनि आए । कक्षा ९ मा पढ्दा बुवाले ९० रूपैयाँको जुत्ता किनी दिनु भएको थियो । त्योभन्दा पहिला कहिल्यै जुत्ता नलगाएको मलाई धेरै खुशी लाग्यो । मलाई भैरव माध्यमिक विद्यालय अवलचिङ्गले कक्षा ६ र ७ मा अनुशासित विद्यार्थी भनी सम्मान गरेको थियो । त्यो सम्झँदा आज पनि खुशी लाग्छ । सुन्दर नेपाल संस्था सुर्खेतले समेत ९० जना कर्मचारीमध्ये मेरो कामको मूल्याङ्कन गरी उत्कृष्ट कर्मचारीको रूपमा सम्मान ग¥यो त्यो पनि मेरो जीवनको एकदमै खुशीको क्षण हो ।

दुःखका क्षणहरू पनि जीवनमा नआएका होइनन् । धेरै आए । वि.सं. २०६७ सालमा सवारी दुर्घटनामा खुट्टा फ्याक्चर भएको थियो । त्यो बेलामा एकदमै दुःख लागेको थियो । गर्नको लागि धेरै पेसाहरू छन् । हरेकले आ–आफ्नै इच्छा अनुसारको पेसाहरू अङ्गालेका हुन्छन् । तर मलाई जीवनभर सामाजिक क्षेत्रमा नै काम गर्ने इच्छा छ । ग्रामीण क्षेत्रमा अवसरबाट वञ्चित भएका नागरिकहरूलाई विभिन्न खालको अवसर दिने मौका पनि पाइयो । विपन्न अवस्थाका नागरिकहरूको जीवनस्तर उकास्ने खालका व्यावसायिक तालिमहरूले धेरैको जीवन बदलिएको छ । उहाँहरूले पनि मलाई सम्मान गर्नुहुन्छ । त्यसैले पनि एकदमै खुशी लाग्छ ।

सामाजिक क्षेत्रमा काम गर्दा आर्थिक रूपमा पनि त्यति आत्तिनुपर्ने अवस्था आउँदैन । पारिवारिक अवस्था राम्रै छ । वैवाहिक जीवनको कुरा गर्दा कोपिला रानासँग मेरो प्रेम विवाह भयो । हाल उनी भैरव माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी छन् । एक छोरा र एक छोरी छन् । परिवारको आर्थिक अवस्था पनि ठीकै छ । मलाई अझै पनि यो क्षेत्रमा रहेर थुपै्र काम गर्ने इच्छा छ । म आफू सामाजिक क्षेत्रमा काम गर्छु भन्दा गर्व लाग्छ । धेरैले डलरको खेती भन्ने आरोप लगाए पनि हामीले नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन यस क्षेत्रमा गरेको काम अतुलनीय छ । पढाइमा नेपाली विषयमा स्नातकोत्तर गर्दैछु । जीवनमा मैले मेरो पेसाप्रति कहिल्यै आत्मग्लानी गरिनँ । यसैमा रमाएँ र यसैमा रमाउने छु ।

प्रकाशित मितिः   २० कार्तिक २०७६, बुधबार ०७:३९