क्याम्पस सञ्चालन गर्न महायज्ञ

सुर्खेत : चौकुने गाउँपालिकामा क्याम्पस स्थापनाका लागि महायज्ञ सञ्चालन गरिने भएको छ । आइतवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कर्णाली कृषी तथा वन विज्ञान क्याम्पस सञ्चालन प्रचार–प्रसार उपसमितीले उक्त कुराको जानकारी दिएको हो । यहि कार्तिक २२ गतेदेखि २९ गतेसम्म चौकुने गाउँपालिकाको विशाल बजारमा उक्त महायज्ञ सञ्चालन गरिने भएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले चौकुने गाउँपालिकाको गुटुमा क्याम्पस स्थापनाको लागि सम्बन्धन दिएपछि २०७५ साल भदौ २३ गते क्याम्पस सञ्चालनका लागि २३ सदस्यीय समिती गठन गरि काम अगाडि बढाएको अध्यक्ष मोहनसिं बडुवालले बताए । उनले स्थानीय तह तथा जनस्तरबाट करिब ४२ लाख रूपैयाँ कबुल भएको भए पनि त्यो रकम अपुग हुने भएकोले महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

जनस्तरबाट करिब आठ विगाहा जग्गा विश्वविद्यालयका नाममा बनाउनु पर्ने र अन्य पुर्वाधारको काम समेत अगाडि बढाउनको लागि रकम आवश्यक परेकोले महायज्ञ सञ्चालन गर्नुपरेको बडुवालले जानकारी दिए । उनका अनुसार स्थानीय धामीडाँडा वन उपभोक्ता समितिले ४० विगाहा जग्गा उपलब्ध गराएको छ । चौकुने गाउँपालिकाका लागि मात्रै नभई सिङ्गो कर्णाली प्रदेशका लागि नै चौकुनेमा स्थापना हुन लागेको कृषी तथा वन विज्ञान क्याम्पसले शिक्षा क्षेत्रमा समृद्धि ल्याउने अध्यक्ष बडुवालले बताए । उनले महायज्ञमा करिब ११ सय कलश प्रति कलश ११ सय रूपैयाँका दरले विक्रि गर्ने, एकसय ज्येष्ठ नागरिकलाई तुलादान गर्ने, ब्रतबन्ध, चौरासी पूजा लगाएतबाट करिब पाँच करोडसम्मको आम्दानीको अनुमान गरेको समेत बताए । महायज्ञ सञ्चालनमा भने करिब ३० लाख जती खर्चको अनुमान समितिले गरेको छ ।

‘हामीहरू पारदर्शी भएर काम गर्नेछौं’, उनले भने ‘महायज्ञ सकिएलगत्तै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिने छ ।’ विकास शहरमा मात्रै नभई गाउँमा पनि गरे जनताले विकासको वास्तविक अनुभुती गर्न सक्ने बडुवालको भनाई रहेको थियो ।

प्रकाशित मितिः   ४ कार्तिक २०७६, सोमबार ०९:२८