पूर्वमन्त्री खत्रीसँग पाँच लाख धरौटी माग

सुर्खेत : बैंक ग्यारेण्टी किर्ते गरेको अभियोग लागेका पूर्वमन्त्री खड्कबहादुर खत्रीसँग अदालतले पाँच लाख रूपैयाँ धरौटी माग गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकराज ढुङ्गानाको इजलाशले खत्रीलाई पाँच लाख रूपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

कृषि विकास बैंकको शाखा कार्यालय भोजपुरका शाखा प्रबन्धक गोकुलप्रसाद पनेरुको जाहेरीले नेपाल सरकारले बैंकिङ्ग कसूरको मुद्दा दायर गरेको थियो । यसअघि पाटनको वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाले खत्रीलाई मन्त्री भएकै आधारमा फरार देखाउनु अनुसन्धानमाथि भद्दा मजाक भएको टिप्पणी गर्दै तीन दिनभित्र अदालत पेश गर्न भनेको थियो ।

गत साउन २७ गते उच्च अदालत पाटनले खत्रीलाई तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी गरेको थियो । तर त्यसको तीन सातापछि उनी बुधवार अदालतमा उपस्थित भएका थिए । अदालतको आदेशअनुसार प्रहरीले उनलाई उपस्थित गराउन नसकेपछि उनी आफैं अदालत उपस्थित भएका हुन् ।

निलम्बित मन्त्री खत्री, राजुप्रसाद श्रेष्ठसहित पाँच जनाले कृषि विकास बैंकबाट एक करोड १० लाख ८० हजार रूपैयाँ रकम बराबरको किर्ते बैंक ग्यारेण्टी बनाएका थिए । त्यसका लागि मन्त्री खत्री र श्रेष्ठसँग बयान लिनुपर्ने भन्दै अदालत उपस्थित हुन आदेश दिइएको थियो । अन्य प्रतिवादीलाई उपस्थित गराए पनि प्रहरीले श्रेष्ठ र खत्रीलाई भने फरार देखाइएको थियो । कृषि विकास बैंक काठमाडौंबाट भोजपुरको सरकारी ठेक्काका लागि जारी गरेको किर्ते बैंक ग्यारेण्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतले ठहर गर्दै त्यसैको बयानका लागि उपस्थित हुन आदेश दिएको थियो। सोही कसूरमा अदालतमा उपस्थित भएका छविलाल ढकाल, रणवीर तुम्बा र देवजङ्ग शाहीलाई भने अदालतले जनही ६ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । बहालवाला मन्त्री नै किर्तेमा संलग्न भएर अदालतबाट पक्राउ आदेश जारी भएपछि कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रहेका खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेका थिए ।

प्रकाशित मितिः   १९ भाद्र २०७६, बिहीबार १३:२५