सुर्खेतमा भेटिए डेङ्गुका बिरामी

सतर्कता अपनाउन चिकित्सकहरूको आग्रह

सुर्खेत : सुर्खेतमा पनि डेङ्गु रोगको संक्रमण फेला परेको छ । कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारमा आएका दुई जना बिरामीमा डेङ्गुको संक्रमण भेटिएको हो ।

एक जना महिला र एक जना पुरुषमा डेङ्गुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाका एक जना पुरुष र बराहताल गाउँपालिकाकी एक जना महिलामा डेङ्गु फेला परेको हो । पुरुषलाई भने पहिले भारत हुँदा डेङ्गु भएर उपचार गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । दुवै बिरामी उपचारपछि घर फर्किसकेको कार्यालयले जनाएको छ ।

सुर्खेतमा पनि डेङ्गुको संक्रमण भेटिएपछि स्वास्थ्य कार्यालयले यसबारे जनचेतना जगाउनका लागि सबै स्थानीय तहलाई पत्राचार गरेको छ । ‘प्रदेश अस्पतालबाट दुई जना डेङ्गुको बिरामी भेटिए भन्ने खबर आएको छ । हामीले अहिले सुर्खेतका सबै स्थानीय तहमा सचेतनामूलक कार्यक्रमका लागि पत्राचार गरिसकेका छौं’ वाग्लेले भने । उनले संघबाट नै जनचेतनामूलक पोष्टरहरू तयार भएर आएको र कार्यालयले पनि सचेतनामूलक जिङ्गलहरू प्रशारण गर्ने योजना बनाएको जानकारी दिए । सुर्खेत मलेरिया र औलोको उच्च जोखिमयुक्त ठाउँ भएकाले पनि उच्च सतर्कता अपनाउन प्रमुख वाग्ले आग्रह गरे ।

सुर्खेतमा दुई जना डेङ्गुका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले पनि सबैलाई सचेत रहन आग्रह गरेको छ । निर्देशनालयका प्रमुख श्यामलाल आचार्यले अहिले बिरामीलाई भेट्नुका साथै त्यस समुदायको विषयमा जानकारी लिइरहेको बताए । लामख्ुट्टेको टोकाइबाट यो रोगको सक्रमण हुने भएकाले आफ्नो वरीपरीको वातावरण स्वच्छ राख्न र लामखुट्टेको टोकाइबाट बच्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । ‘अहिले पानी परिरहेकाले घर–आँगन नजिक खाल्डाखुल्डीमा पानी नराख्न, झाडीहरू नराख्न र फोहोर नगर्न सुझाव दिएका छौं’ उनले भने, ‘डेङ्गुका लक्षण देखिए तत्काल चिकित्सकको सम्पर्कमा आउन पनि अपिल गर्दछौँ ।’

के हो डेङ्गु ?

डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेङ्गुको भाइरसबाट संक्रमित भएको एडिस रजिष्टाइ जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना पानी जमेका स्थानमा फुल पार्ने गर्दछ । खासगरी वर्षाको पानी जस्तै टिनका डब्बा, थोत्रा टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, फूलदानी गमला, पानीका ट्याङ्की आदिमा यसले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गरेको पाइन्छ ।

लक्षण तथा चिन्हहरू

सामान्यतया डेङ्गु भाइरसको संक्रमण भएका करिब ८० प्रतिशत मानिसहरूमा रोगको कुनै लक्षण देखिदैनन् वा देखिए पनि हल्का ज्वरो जस्ता सामान्य खालका लक्षणहरू मात्र देखिन्छ । संक्रमित मध्ये ५ प्रतिशत मानिसहरूमा गम्भीर प्रकारको डेङ्गु लाग्ने गर्छ भने तीमध्ये पनि निकै कम मानिसहरू यस रोगका कारण मृत्युको मुखमा पुग्ने गर्दछन् । यो रोग छिप्पन ३ देखि १४ दिन लाग्ने भए पनि धेरैजसो बिरामीहरूमा यो रोगले ४ देखि ७ दिनमा नै पूर्णता पाउँछ । त्यसैले डेङ्गुको जोखिममा रहेका स्थानमा गएर फर्किएका मानिसहरूमा घर पुगेको १४ दिनपछि डेङ्गु वा अन्य लक्षण देखा पर्ने सम्भावना हुँदैन ।

प्रायःजसो बालबालिकामा डेङ्गुको संक्रमण हुँदा सामान्य रुघा तथा संक्रामक पखाला भएको जस्तै लक्षणहरू देखिने गर्दछन् । त्यस्तै बालबालिकाहरूमा विभिन्न जटिलताहरू देखा पर्ने जोखिम पनि तुलनात्मक रूपमा बढी नै हुन्छ । सुरुवातमा यसका अन्य लक्षणहरू मन्द खालका भए पनि उच्च ज्वरो पनि देखा पर्दछ । डेङ्गुको पहिचानको लागि मुख्य लक्षणहरू अचानक ज्वरो आउने टाउको दुख्ने साधारण तथा आँखाको पछाडि दुख्ने, मांसपेशी दुख्ने, जोर्नी दुख्ने आदि हुन् । डेङ्गुका रोगीहरूको मांसपेशी तथा जोर्नी दुख्ने हुनाले यसलाई हड्डीतोड ज्वरो पनि भनिन्छ ।

प्रकाशित मितिः   १९ भाद्र २०७६, बिहीबार १३:२४