संविधान दिवस तीन दिन मनाइने

सुर्खेत : कर्णाली प्रदेशमा संविधान दिवसलाई तीन दिनसम्म मनाइने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले आगामी असोज २, ३ र ४ गते विविध कार्यक्रमको आयोजना गरी संविधान दिवसलाई भव्यरूपमा मनाउने निर्णय गरेको हो । बैठकले कर्णाली प्रदेश अन्तर्गतका मन्त्रालय, मातहतका निकाय तथा स्थानीयतहरूमा सरसफाइ, सजावट, दीपावली तथा राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ । संविधान दिवसका दिन बिहान ७ बजे मंगलगढी चौकबाट प्रभातफेरी गर्ने र खुलामञ्चमा संविधान दिवस समारोहको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विभिन्न सामाजिक संघ–संस्थाहरूले साँस्कृतिक पहिचानसहितको झाँकी प्रदर्शन गरिने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव तथा मूल समारोह समितिका सदस्य–सचिव विनोदकुमार गौतमले जानकारी दिए । बैठकले सर्वसाधारण सबैका घर तथा पसलहरूमा राष्ट्रिय झण्डा फहराउनुको साथै दीपावली गर्न आव्हान गरेको सदस्य सचिव गौतमले जनाए । संविधान दिवसलाई भव्यताका साथ मनाउन बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा २० सदस्यीय मूल समारोह समिति गठन समेत गरेको छ । समितिकोे सदस्यहरूमा प्रदेश सभाका सभामुख, उच्च अदालतका मुख्य न्यायाधीश, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश योजना आयोगका उपाध्यक्ष, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख, प्रदेश सरकारका प्रमुख सचिव लगायत रहेका छन् ।

यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वमा प्रचार–प्रसार उप–समिति, सामाजिक विकास मन्त्री दल रावलको संयोजकत्वमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन उप–समिति र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको संयोजकत्वमा मञ्च सजावट तथा कार्यक्रम व्यवस्थापन उप–समिति गठन गरेको छ ।

प्रकाशित मितिः   १९ भाद्र २०७६, बिहीबार १३:२६