गुनासो सुनिन्छ, सुनुवाइ कम हुन्छ

मुख्यमन्त्री हटलाइनमा गुनासोका चाङ

सुर्खेत, कर्णाली प्रदेश सरकारले जनताको गुनासा सुन्नका लागि सुरु गरेको हेल्लो मुख्यमन्त्री हटलाइन सेवामा गुनासोका चाङ लागेको छ । नागरिकहरूले हटलाइन सेवामा फोन गरेर आफ्नो ठाउँका विकास निर्माण सम्बन्धी काममा भएको ढिलासुस्ती, अनियमितता र प्रभावकारी सेवा नपाएको विषयमा आफ्ना गुनासा र उजुरी टिपाउने गर्ने गरेका छन् ।

हटलाइन सेवा सुरु भएको झण्डै एक वर्षमा दुई सय १३ उजुरी परेका छन् । हटलाइन सेवामा आएका गुनासा मध्ये विद्युत र सडक सम्बन्धीका गुनासा बढिरहेका छन् । दुई सय १३ गुनासा मध्ये ४८ वटा गुनासा विद्युत र सडक सम्बन्धी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत लालबहादुर खत्रीका अनुसार २६ वटा विद्युत र २२ वटा सडक सम्बन्धीका गुनासा परेका छन् । सडक भत्किएको, निर्धारित समयमा सडक नबनेको, खाल्डाखुल्डी भएर सास्ती भएको, सडक पिच नभएको र नियमित विद्युत नआएको गुनासा बढी आउने गरेको खत्रीले बताए । उनले भने, ‘सबै भन्दा बढी लामो समयसम्म सडक नबनेको, मर्मत नभएको, धुलोधुवाँमा हिँड्न परेको र नियमित विद्युत आपूर्ति नभएको गुनासा आउँछन् ।’ यस्तै हटलाइन सेवामा खानेपानीको समस्या, तटबन्धनका समस्या र सुर्खेतमा अटोरिक्साले दिएको सास्ती तथा लाइसेन्स विना सञ्चालन गरेको गुनासा आउने गरेको उनले जनाए ।

समस्या समाधानका लागि नागरिकहरूले हटलाइन सेवामा आफ्ना गुनासो र उजुरी टिपाउने गरे पनि त्यसको सुनुवाइ भने निकै सुस्त छ । समयमै गुनासोहरूको सुनुवाइ नहुँदा सेवाग्राहरू निराश हुने गरेका छन् । हटलाइन सेवामा गुनासो सुन्ने तर सुनुवाइ कम हुने गरेको आरोप सेवाग्राहीको छ । हालसम्म आएका गुनासामध्ये आधाभन्दा पनि कम गुनासोको मात्रै सुनुवाइ भएको छ । हटलाइन सेवामा परेका दुई सय १३ मध्ये ७५ गुनासा फछ्र्यौट भएका छन् । अधिकृत खत्रीका अनुसार एक सय ३८ उजुरी सम्बन्धित निकायमा पठाइएको छ । ‘यहाँ आएका गुनासाहरू मध्ये तत्काल मुख्यमन्त्री कार्यालयबाट हुने आफै समाधान गर्छौं, लामो समयसम्म लाग्ने गुनासा सम्बन्धित निकायमा पठाउँछौं’ उनले भने, ‘बत्ती, खानेपानी नआएका जस्ता गुनासा आए समबन्धित निकायमा हामीले खबर गरेर सम्बोधन गर्ने गरेका छौं । सडक, पुल लगायतका विषयमा लामो समय लाग्ने भएकाले सम्बन्धित निकायलाई पत्र पठाउँछौं ।’

सार्वजनिक निकायलाई जवाफदेही बनाउन र सरकारी निकायबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हेलले मुख्यमन्त्री हटलाइन सेवा सञ्चालनमा ल्याएको हो । कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिताका लागि सरकारले हटलाइन सेवा सुरु गरेको थियो । मुख्यमन्त्री कार्यालयले विद्युत, खानेपानी लगायतका सम्बन्धमा तत्काल गुनासा सम्बोधन गर्ने गरेको उनले जानकारी दिए । जनताका गुनासा सुन्ने र सम्बोधनका लागि सम्बन्धित निकायमा निर्देशन दिने गरिएको कार्यालयले जनाएको छ । प्रदेश सरकारले १०९६ मा फोन गरेर गुनासा टिपाउने व्यवस्था गरेको छ ।

प्रकाशित मितिः   ११ श्रावण २०७६, शनिबार १५:४५