कार्यान्वयनमा हरित विद्यालय
ध्रुवकुमार अधिकारी
सन् १९८० को दशकबाट संसारभर दिगो विकासको अवधारणा आयो । दिगो विकासले आर्थिक, सामाजिक–सांस्कृतिक विकासको साथै वातावरणीय विकासलाई पनि त्यत्तिकै महŒव दियो । सन् २०१५ देखि सन् २०३० सम्म संयुक्त राष्ट्र संघ दिगो विकास कार्यक्रमले निर्धारण गरेका १७ वटा लक्ष्यहरू मध्ये चौथो नम्बरमा गुणस्तरीय शिक्षालाई जोड दियो । उपयुक्त जैविक वातावरणभित्र सिकाइ खोज्न थालियो । शैक्षिक संस्थाहरू र वरपरको क्षेत्रको व्यापक हरियाली विकासको अवधारणालाई अघि सारियो । नेपालमा पनि यसैको प्रभाव स्वरूप ‘हरित विद्यालय कार्यक्रम’ वि.सं २०७५ साल मंसिर १५ देखि आरम्भ गरियो । जसरी जापान र कोरियाको विद्यार्थीहरूले माटोसँग खेलेर सिकाइ गरेका हुन्छन् त्यसरी नै नेपालमा पनि यो संस्कारको आरम्भ भएको मान्न सकिन्छ ।
एक विद्यालय एक बगैंचा निर्माण तथा बृहत हरितक्षेत्र निर्माण कार्यक्रम हरित विद्यालयको मुख्य कार्यक्रम भयो । यसको मुख्य लक्ष्य प्रत्येक विद्यालयमा कम्तीमा पनि एउटा बगैंचा निर्माण र विद्यालय सेवाक्षेत्रका सार्वजनिक स्वामित्वमा रहेका खाली जमिनमा वृक्षारोपण गरी हरियालीयुक्त बनाउनु रह्यो । यसको कारण विद्यालयको वातावरण सफा, शान्त, सुरक्षित र हरियाली बन्नेभो । विद्यालय आकर्षक बन्ने भए । विद्यार्थीहरू स्वतः उत्प्रेरित हुने भए । विद्यालय एक मनोरम स्थलको रूपमा पनि विकसित हुने भयो । यति मात्र होइन, विद्यालयलाई एक जीवित प्रयोगशालाको रूपमा विकास गराउने मान्यता आयो । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानको साथै व्यवहारिक र जीवनोपयोगी सीप प्रदान गर्नसक्ने अवसर पनि प्राप्त हुन्छ भन्ने धारणा राखियो । परियोजना कार्यको लागि पनि सहज वातावरण सिर्जना हुनसक्ने भो । अनुभवबाट सिक्ने मौका मिल्ने भो । विद्यार्थीलाई आत्मनिर्भरताका लागि पनि जोड दिन सकिने भयो । त्यसैले यो कार्यक्रमको कार्यान्वयनको विकल्प रहेन ।
हरित विद्यालय कार्यक्रमको कार्यान्वयन भएमा विद्यालयमा जैविक बगैंचा हुन्छ । समुदायको लागि पनि अनुकरणीय सिकाइ केन्द्र पनि बनाउन सकिन्छ । विद्यालय सेवाक्षेत्रभित्र वातावरण संरक्षण गर्न विद्यार्थी, शिक्षक, अभिभावक र समुदाय परिचालन गर्न सकिन्छ । अभियानको रूपमा मुलुकभर यो कार्यक्रम सञ्चालन गर्न शिक्षा सचिवको संयोजकत्वमा निर्देशक समिति गठन भएको छ । त्यस्तै, प्रदेश, जिल्ला र स्थानीय तहमा विभिन्न समिति तथा उप–समिति गठन गर्न सकिने कुरा निर्देशिकामा रहेको छ ।
विद्यालयमा यस कार्यक्रमलाई सक्रिय रूपमा सञ्चालन गर्नको लागि प्रधानाध्यापक प्रमुख संरक्षक रहेका हुन्छन् । यसैगरी एक जना शिक्षक फोकल पर्सन वा सम्पर्क शिक्षकको रूपमा रहेका हुन्छन् । आधारभूत तहमा बढीमा नौ र माध्यमिक तहमा बढीमा ११ जना देखि १५ जनासम्म रहने र त्यसमा पनि ३३ प्रतिशत रहने गरी इको क्लब गठन गरिने कुरा निर्देशिकामा रहेको छ । यसले सर्वपक्षीय समन्वयात्मक भूमिका र कार्यान्वयनमा सहज बनाउँछ । गाउँपालिका वा नगरपालिकाका प्रमुखको अध्यक्षतामा स्थानीय तहमा कार्यक्रमको कार्यान्वयन, व्यवस्थापन, सहजीकरण र रेखदेख गर्नको लागि कार्यक्रम सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको हुन्छ । जसको अध्यक्ष सम्बन्धित विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रहेका हुन्छन् । यो समितिमा अन्य सदस्यहरूमा सम्बिन्धित वडाले तोकी पठाएको प्रतिनिधि एक जना, विद्यालयका प्रधानाध्यापक, शिक्षक अभिभावक संघको अध्यक्ष, गैरसरकारी संस्था वा स्थानीय शिक्षा प्रेमीहरू मध्येबाट समितिले मनोनित गरेको कम्तिमा एक जना महिलासहित दुई जना सदस्य, बन उपभोक्ता समितिका अध्यक्ष र अभिभावकहरू मध्येबाट समितिले मनोनित गरेको एक जना महिलासहित दुई जना सदस्य, विद्यालयका इको क्लबका अध्यक्ष सदस्य रहेका हुन्छन् । तर यो समितिको सदस्य–सचिव सम्पर्क (फोकल शिक्षक) शिक्षक रहेका हुन्छन् ।
कसरी विद्यालयलाई हरित बनाउने ?
विद्यालयमा हरित बगैंचा हुनु वातावरणको लागि त लाभदायक नै हो । अझ विद्यालयमा हरित घेरावार भएमा उत्तम हुन्छ । यो जैविक घेराबार नै हुन्छ । सदावहार फूलबारी पनि बनाउन सकिन्छ । यदि सो नसकेमा मौसमी फूलबारी पनि त्यत्तिकै सान्दर्भिक हुन्छ । छत, बरण्डा, करिडोर आदिमा गमलामा अर्नामेन्टल बिरुवा तथा आकर्षक फूलका बिरुवाहरू रोप्न सकिन्छ । धुपी, अशोका, वर, पिपल, खरी, साइकस, क्रिसमस रुख जस्ता बिरुवाहरू पनि लाभदायक हुन्छन् । यसका अतिरिक्त फलफूलका बिरुवाहरू ठाउँ अनुसार आँप, लिची, स्याऊ, आरु, आलुबोखडा, नासपति, सुन्तला, अमिला, कागती, अम्बा आदि सहितको फलफूलको बगैंचा तयार गर्न सकिन्छ । यसरी आफ्नै बगैंचाको फूल प्रयोग गरेर विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा सजावट, अतिथि सत्कार, स्वागत, सम्मान जस्ता कार्यमा माला, बोट बिरुवाका पात प्रयोग गर्न सकिन्छ । विद्यालय सेवाक्षेत्रभित्र रहेको खाली जग्गामा विभिन्न प्रकारका वृक्षारोपण, फलफूल खेती, काष्ठजन्य बिरुवाहरू, जडिबुटी र औषधिजन्य बिरुवाहरू, हरित सडक निर्माण आदि गर्न सकिन्छ । जोस जाँगर र वातावरण हुने भने इको पुस्तकालयको स्थापना गर्न सकिन्छ । यसले शान्त र पठन संस्कृतिलाई आकर्षक बनाउँछ । जैविक संग्रालय पनि निर्माण गर्न सकिन्छ । एक्वारियम, हर्बेरियम निर्माण, संकलन र संरक्षण समेत गर्न सकिन्छ ।
एक विद्यालय तथा एक बगैंचा तथा वृहत हरित क्षेत्र निर्माण कार्यक्रम कार्यान्वयनको लागि सहज होस् भनेर विभिन्न प्रकारका सहयोग तथा स्रोत व्यवस्थापन गर्नको लागि इको क्लबको आफ्नै छुट्टै कोष बनाउन सकिन्छ । उक्त कोषमा विद्यालयबाट प्राप्त अनुदान, विद्यार्थीहरूबाट प्राप्त सहयोग, अभिभावकबाट प्राप्त सहयोग, पूर्व विद्यार्थीबाट प्राप्त सहयोग, सरकारी तथा गैरसरकारी संस्थाबाट प्राप्त अनुदान र सहयोग रकम, स्थानीय शिक्षाप्रेमी, व्यापारी, प्रतिष्ठान, उद्योगबाट प्राप्त सहयोग रकम, विद्यार्थीहरूले उत्पादन गरेका वस्तुहरूबाट प्राप्त सहयोग रकम, विद्यालयमा खेर गएका उपकरण वा सामान बिक्री गरेर प्राप्त रकम, साधारण सदस्यबाट उठेको रकम र अन्य विभिन्न स्रोतहरूबाट प्राप्त रकमको प्राप्ती, सदुपयोग, परिचालन र व्यवस्थापन गर्न सकिन्छ ।
अबका दिनमा प्रत्येक विद्यालयले विद्यालय परिसरभित्र कम्तीमा एउटा बगैंचा निर्माण गर्नुपर्नेछ । विद्यालयको खाली जग्गाको सही सदुपयोग हुनेछ । खाली जग्गा नभएका विद्यालयले पनि गमला, बोरा, पर्खाल, पूराना वाल्टी, वरण्डा, छत प्रयोग गरेर बगैंचा निर्माण गर्न सकिन्छ । फूलबारी, औषधिजन्य बिरुवाहरू र तरकारी बगैंचासमेत निर्माण गर्न सकिन्छ । जग्गा धेरै हुने विद्यालयहरूले भौगोलिक अवस्था समेतलाई ध्यान दिएर माछापालन र मौरी पालन गर्न सकिन्छ ।
आफ्नो विद्यालयका विद्यार्थी, शिक्षक–कर्मचारी, अभिभावक र समग्र समुदायसमेतमा जनचेतना जगाउन पनि त्यत्तिकै आवश्यक रहन्छ । प्राविधिक तथा व्यवसायिक विषय सञ्चालन गर्ने विद्यालयहरूले बालिबिज्ञान वा पशुपालन विषयको प्रयोगात्मक प्रयोगशाला बनाउनु उपयुक्त हुन्छ । यसले अर्कोतिर विद्यालय र अभिभावकमा समेत हरियाली प्रवद्र्धनसँगै जीवजन्तु र चराचुरुङ्गीको संरक्षण गर्नुपर्छ भन्ने भावनाको जागृत गराउन सक्छ ।
एक मात्र पृथ्वीको वहन क्षमता अभिवृद्धि गर्न, वातावरणबाट जैविक विविधतामा परेको असर न्युनिकरण गर्दै पारिस्थितिक पद्धतिमा सन्तुलन कायम गर्न, स्वच्छ एवम् हरित पृथ्वी भावी पुस्तालाई हस्तान्तरण गर्न, शिक्षाका माध्यमबाट विद्यार्थी तथा आम जनसमुदायमा वातावरण मैत्री व्यवहार विकास गर्न, दिगो विकासको लक्ष्य हासिल गर्नका निम्ति विद्यालय तथा शैक्षिक संस्थाको परिसर र सेवा क्षेत्रमा व्यापक हरियाली प्रवद्र्धन गर्न एक विद्यालय एक बगैंचा तथा वृहत हरित क्षेत्र निर्माण कार्यलाई प्रभावकारी रूपले अगाडि बढाउन नेपाल सरकार शिक्षा , विज्ञान, प्रविधि मन्त्रालयले हरित विद्यालय कार्यक्रम अघि सारेको छ । नेपालमा पनि पछिल्लो समयमा हरित सहर, हरित गाउँ, स्मार्ट सिटी, डिजिटल सहर जस्ता अवधारणाले बजार तताएका छन् । नेपाल सरकारले पनि नेपालमा रहेका विशेष गरी सामुदायिक विद्यालयलाई लक्षित गरी हरित विद्यालय निर्देशिका २०७५ पनि जारी गरेको छ ।
यो कार्यक्रम कार्यान्वयनको प्रमुख भूमिका त विद्यालयको नेतृत्व वहन गरी व्यवस्थापकीय तथा प्रशासनिक जिम्मेवारी निर्वाह गर्ने विद्यालयको प्रमुख कार्यकारी पदाधिकारीको रूपमा रहेको प्रधानाध्यापक कै हुने देखिन्छ । विद्यालयलाई वृहत हरित क्षेत्र वनाउने भनिएको छ । यसमा विद्यालय परिसर पहिलो प्राथमिकतामा पर्छ । त्यसपछि विद्यालयको सेवा क्षेत्र पनि पर्नसक्छ । यतिमात्र होइन विद्यालय र समुदायको प्रयासमा वृक्षारोपण गरी सार्वजनिक जग्गामा पनि हरियाली बनाउन सकिन्छ । हरित विद्यालयको लागि विद्यालयले एक जना शिक्षकलाई जिम्मेवारी दिएको हुन्छ । उक्त शिक्षकलाई सम्पर्क शिक्षक भनिन्छ ।
उपसंहार
हरित विद्यालय कार्यक्रमको अवधारण अत्यन्तै सान्दर्भिक अवधारणा हो । सुर्खेतका विद्यालयको सन्दर्भमा यो कार्यक्रमलाई कार्यान्वयन गर्न त्यति कठिन छैन । किनकि यहाँ वातावरणीय अनुकूलन रहेको छ । यसको कार्यान्वयन विद्यालय, समुदाय, विभिन्न सामाजिक तथा गैरसरकारी संस्थाहरू र स्थानिय तहको समन्वयात्मक भूमिकाले प्रभावकारीता ल्याउन सक्छ । विद्यालय बगैंचालाई विद्यार्थीको सिकाइ र मनोरञ्जनसँग जोड्दै जानेभने सिकाइमा दिगोपनको एउटा आधार पनि बन्न पनि सक्छ । विद्यार्थीको उमेर र क्षमतालाई ध्यानमा राखेर विभिन्न शारीरिक कार्य गर्न प्रोत्साहित गर्दा उनीहरूको बौद्धिक विकासमा सहयोग पुग्न सक्छ । हरित विद्यालयको कार्यक्रमबाट विद्यार्थीहरूले परियोजनामा आधारित भएर वास्तविक सिकाइ अनुभव हासिल गर्ने उपयुक्त वातावरण बन्न सक्छ । यसले विद्यार्थीमा आत्मनिर्भरताको विकास पनि हुन्छ । प्रत्येक विद्यालयमा जैविक बगैंचा निर्माणले वातावरण संरक्षणमा टेवा पुग्नुको साथै एउटा गहकिलो सन्देश पनि समाजलाई मिल्नेछ । विद्यार्थीमा पोषक तत्वयुक्त खानेकुराको ज्ञान, सीप र अभिवृद्धिको विकास पनि हुन्छ । विद्यालयहरू उदाहरणीय हरित केन्द्रको रूपमा विकास भइ समुदायका लागि अनुकरणीय सिकाइ केन्द्र बन्न सफल हुन्छन् । यसको प्रभावकारी कार्यान्वयनमा भने सरोकारवाला सबैको अहम भूमिका रहन्छ ।
(लेखक आदर्श माध्यमिक विद्यालय, लेखफर्सामा कार्यरत शिक्षक हुन् ।)
ध्रुवकुमार अधिकारी ।