‘विकासको गति शून्य भयो’

साझा बिसौनी संवाददाता
सुर्खेत, २६ फागुन ।
कर्णाली प्रदेशसभाका सांसदहरूले विकासको गति शून्य भएको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारले विकास कार्यलाई तीव्र पार्न नसकेको भन्दै आइतवारको संसद बैठकमा सत्तापक्षकै सांसदहरूले समेत सरकारको आलोचना गरेका छन् ।


‘योजना बाँडिएका छन्, तर काम हुन सकेको छैन’ संसद बैठकमा प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले भने, ‘सरकारले गतिका साथ काम गर्ने वातावरण सिर्जना भएको छैन । पूँजीगत बजेट खर्च नहुँदा विकास कसरी सम्भव छ ?’ चालुतर्फको बजेट खर्च धेरै हुने तर पूँजीगत बजेट खर्च नहुनुले विकास हुन नसक्ने उनले बताए । प्रदेश सरकारले बजेट खर्च गर्न नसकेको भन्दै उनले बाँकी रहेको समयमा अधिकतम बजेट कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए । कर्मचारी समायोजनमा केन्द्र सरकारसँग समन्वय नहुँदा कर्णालीमा कर्मचारी आउने वातावरण अहिले पनि नबनेको उनले बताए । कर्णालीलाई पहिलो प्राथमिकता केन्द्रले नदिएसम्म विकास र समृद्धि असम्भव भएको संसदमार्फत् सरकारको ध्यानाकर्षण गरे ।
सरकार गठन भएको एक वर्ष बिते पनि विकासका गतिविधिहरू निराशाजनक देखिएका छन् । गत आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न नसकेको प्रदेश सरकारलाई यो आवको बजेट पनि अपेक्षाकृत रूपमा खर्च गर्न सकेको छैन । सरकारले यो वर्ष २८ अर्ब २८ करोड २८ लाख २८ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । तर, दोस्रो चौमासिक सकिए पनि बजेट खर्च बढेको छैन । हिमाली जिल्लामा हिमपात भएसँगै विकास निर्माणका कामहरू प्रभावित भयो । फागुन तेस्रो हप्तासम्म भएको हिमपातले विकास निर्माणका कुनै पनि काम हुन सकेका छैन् । ‘विकटमा मात्रै होइन्, सुगममा विकास गर्न कसले रोक्यो’ विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले भने, ‘अप्ठ्यारोमा काम गर्न नसके पनि सुर्खेतमा विकास हुन किन सकेन ?’ प्रदेश राजधानीका
बस्तीहरूमा विकास निर्माणको अवस्था हेर्दा हुम्लाको दुर्गमता भुलेको उनले बताए । सुर्खेतको पश्चिमी क्षेत्रमा विकासले पछि पर्नुको कारण सरकारको उदासिनता भएको उल्लेख गरे । ‘प्रदेश सरकारले आवश्यक कानुन निर्माण भएको सुन्दा गर्व लाग्यो’ मुख्यमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले भने, ‘कानुन त बने तर बाटो किन बनेन ?, प्रदेश सरकारका मन्त्रालयमा सेटिङ्ग मिलाए मात्रै विकास हुन्छ भन्ने आरोप छ ।’ उनले विकासको अवस्था हेर्दा नै सेटिङ्ग मिलाएर शक्तिका आधारमा बजेट विनियोजन भएको आरोप लगाउनु स्वभाविक भएको बताए । प्रदेश सरकारले संरचना विस्तार गरे पनि गतिशिलताका कारण काम गर्न नसकेको उनले बताए । ‘कार्यपालिकाको प्रमुख मुख्यमन्त्री हो, उहाँबाट नै कुनै भिजन देखिएन्’ उनले भने, ‘लिडर नै निराश भए मन्त्रीले कति उत्साहित हुने, सांसद कति उत्साहित हुने ?’ उनले बजेट कार्यान्वयनका लागि भएका जटिलताहरूको समाधान खोज्नुपर्ने बताए ।

प्रकाशित मितिः   २७ फाल्गुन २०७५, सोमबार १४:५७