अटोरिक्सालाई रुट निर्धारण

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ माघ ।
वीरेन्द्रनगर नगरपालिकाले अटोरिक्साका लागि रुट निर्धारण गरेको छ । वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका अटोरिक्सालाई व्यवस्थित गर्नका लागि नगरपालिकाले उपत्यकामा रुट निर्धारण गरेको हो ।
बुधवार नगरपालिकाले सूचना जारी गरेर रुट निधारण पत्र लिनका लागि अटो रिक्सा सञ्चालकहरूलाई अनुरोध गरेको छ । अहिलेसम्म वीरेन्द्रनगरमा अव्यवस्थित रूपमा अटोरिक्साहरू सञ्चालन हुँदै आएका थिए । रुट निर्धारण गरिएसँगै अब अटोरिक्सा जथाभावी रूपमा सञ्चालन हुन पाउने छैनन् ।
नगरपालिकाले वीरेन्द्रनगर उपत्यकाभित्र चार वटा क्षेत्र विभाजन गरेर रुट निर्धारण गरेको छ । उपत्यका भन्दा बाहिरका लागि भने रुट निधारण गरिएको छैन । अटोरिक्सा नियमन र अनुगमनको पक्षलाई प्रभावकारी गराउनका लागि रुट निर्धारण गरिएको नगरपालिकाका सूचना अधिकारी दिपेन सुवेदीले जानकारी दिए । अटोरिक्सा सञ्चालकहरूले नगरपालिकाले निर्धारण गरेको रुट अनुसार यही माघ मसान्तसम्म नगरपालिकामा अटो रिक्सा दर्ता गरिसक्नुपर्ने नगरपालिकाले जनाएको छ । ‘हामीले वीरेन्द्रनगरमा अटोरिक्सा नियमन र अनुगमन गर्नका लागि कार्यविधि नै ल्याएर कार्यान्वयनमा लागेका छौं’ उनले भने, ‘अब जथाभावी अटोरिक्सा सञ्चालन गर्नेलाई कारबाही पनि गर्छौं ।’
वीरेन्द्रनगरमा अहिले करिब सात सय अटोरिक्सा सञ्चालनमा रहेको जनाइएको छ । ती अटोरिक्साका लागि नगरपालिकाले पार्किङ्ग गर्ने ठाउँ पनि तोकेको छ । अटोरिक्साले शुल्क तिरेर मात्र पार्किङ्ग गर्न पाउनेछन् । यात्रुहरूलाई सुरक्षित रूपमा यात्रा गराउनका लागि एउटा रिक्सामा तीन जना भन्दा बढी राख्न नपाइने पनि सूचना अधिकारी सुवेदीले जानकारी दिए । ‘अब अटोरिक्साहरूले तीन जना भन्दा बढी यात्रुहरू हाल्न पाउने छैनन्,’ उनले भने, ‘यात्रुहरूलाई सुरक्षित रूपमा यात्राका लागि हामी अनुगमनलाई प्रभावकारी बनाउँछौं ।’ अथाभावी र अनियमन्त्रित रूपमा अटोरिक्सा सञ्चालन हुँदा वीरेन्द्रनगरमा पटक–पटक दुर्घटना समेत हुने गरेका छन् ।

प्रकाशित मितिः   १० माघ २०७५, बिहीबार १६:१५