मुलुकी संहिताबारे सचेतना

सुर्खेत, २४ मंसिर । (साबिस)
७०औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा मुलुकीसंहिता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मुलुकी देवानी र फौजदारी संहिता सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
आयोन नेपाल, सुन्दर नेपाल, हुरेक नेपाल, स्याक, आवाज संस्था, इन्सेक, एकल महिला सञ्जालको आयोजना र गैसस महासंघ, किडार्क, मानवअधिकार एलाइन्सको समन्वयमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा अधिवक्ताहरू गीता कोइराला, रमा प्याकुरेलले मानवअधिकार र मुलुकीसंहिताबारे प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक नारायण सुवेदी, आवाजका पवित्रा शाही, सुन्दर नेपालका खिम रेग्मी र आयोनका प्रदेश संयोजक चरित्रा केसी लगायतले विषयवस्तुमा आफ्ना धारणा राखेका थिए ।
यसैबीच सोमवार विविध कार्यक्रम गरी ७०औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइरहँदा सुर्खेतको बराहतालस्थित हरिहरपुरका स्थानीयले मानवअधिकार दिवसका बारेमा पहिलो पटक सुनेको बताएका छन् । बराहताल गाउँपालिका वडा नं. २ सँगको समन्वयमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले साझा आवाज
कार्यक्रम अन्तर्गत आयोजना गरेको विभेदविरुद्ध ऐक्यबद्धता ¥यालीमा सहभागीहरूले अन्तर्राष्ट्रिय मानवअधिकार दिवस पहिलो पटक सुनेको बताएका हुन् ।
‘मानवअधिकार दिवस मनाएको ७० वर्ष भएछ’, ¥यालीपछि कोणसभामा बोल्दै स्थानीय जयराज थापाले भने, ‘यसका बारेमा हामीले आज थाहा पायौं ।’ उनले मानवअधिकार र यस्ता दिवसहरू बजारमा मात्रै मनाउने गरिएकोमा अबदेखि नियमित रूपमा गाउँमा मनाउनुपर्ने बताए ।

प्रकाशित मितिः   २५ मंसिर २०७५, मंगलवार १३:५१