साना किसानको साधारणसभा

सुर्खेत, १२ असोज । (साबिस)
साना किसान कृषि सहकारी संस्था लिमिटेड उत्तरगंगा सुर्खेतको २२ औं वार्षिक साधारणसभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चाँदनी ढकालको अध्यक्षता एवम् कर्णाली प्रदेशसभाका सदस्य यज्ञबहादुर बिसीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक वर्ष २०७४÷०७५ मा ४७ करोड १८ लाख पाँच हजार बराबरको आर्थिक कारोबार गरेको छ । अध्यक्ष ढकालका अनुसार चालु आर्थिक वर्ष २०७५÷०७६ मा ४९ करोड ११ लाख पाँच हजार रूपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य संस्थाले लिएको छ ।
साधारणसभामा दुई जना असल ऋणी, एक जना उत्कृष्ट बचतकर्ता, बृद्ध सदस्य, असल सासु र बुहारी, पशुपालक कृषक तीन जनालाई पुरस्कृतसमेत गरिएको थियो भने चार जनालाई पशु बीमा प्रिमियम वापत सहयोग उपलब्ध गराइएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक पदम दाहाल, राष्ट्रिय सहकारी विकास बैंकका सञ्चालक हरिहरनाथ योगी, नेपाल साझा स्वास्थ्य सेवा सहकारी बोर्डका सञ्चालक चन्द्रप्रसाद थानी, कर्णाली प्रदेश कृषि सहकारी संघका संयोजक शेरबहादुर परियार लगायतले शुभकामना मन्तव्य राखेको सहकारीका प्रबन्धक चित्रप्रसाद रेग्मीले जानकारी दिए ।

प्रकाशित मितिः   १३ आश्विन २०७५, शनिबार १६:५३