न्याय माग्दै विद्यार्थी सडकमा

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ असोज ।
दिनहुँ भइरहेको महिला हिंसा र कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीय किशोरी निर्मला पन्तको न्यायका लागि सुर्खेतमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । राज्यले महिला हिंसा न्यूनीकरण गर्न र निर्मलालाई न्याय दिन नसकेको भन्दै विद्यार्थीहरूले सडकमा उत्रिएका हुन् ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अगुवाइमा सडकमा उत्रिएका विद्यार्थीहरू ‘नेपाल आमाको जय’, ‘निर्मलालाई न्याय’ भन्दै वीरेन्द्रनगर बजारमा नाराबाजी गरेका थिए । सरकारले निर्मलालाई न्याय दिनुपर्ने र महिला हिंसाको अन्त्य गरिनुपर्ने मागसहित शुक्रवार विद्यार्थीहरू सडकमा उत्रिएका हुन् ।
वीरेन्द्रनगरस्थित मंगलगढीचौकदेखि सुरु भएको विद्यार्थीको विरोध ¥याली बजार परिक्रमा पछि सामाजिक विकास मन्त्रालयमा पुगेर टुङ्गिएको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । घटना भएको दुई महिना पुग्दा पनि प्रहरीले अझै दोषी पत्ता लगाउन सकेको छैन ।
दोषीमाथि कारबाही हुनुपर्ने र निर्मलाले न्याय पाउनुपर्ने माग राख्दै सुर्खेतमा विद्यार्थी, अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल लगायतबाट प्रदर्शन र सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मितिः   १३ आश्विन २०७५, शनिबार १६:५३