आतंक मच्चाउने चितुवा नियन्त्रणमा

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ साउन ।
वीरेन्द्रनगर नगरपालिका–११ का घरपालुवा जनावर मारेर आतंक मच्चाएको चितुवालाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको टोलीले चितुवालाई नियन्त्रणमा लिएको हो । विगत १२ दिनदेखि वीरेन्द्रनगर नगरपालिकाको सुब्बाकुना र अमृत डाँडाका नागरिकका बाख्रा, कुकुर र गाइमाथि घर गोठमा नै आएर आक्रमण गर्दै आएको थियो । चितुवाले १० वटा बाख्रा र तीन वटा कुकुरलाई मारेको थियो भने १ गाइलाई घाइते बनाएको जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख हेमराज विष्टले जानकारी दिए ।
घरपालुवा जनावरहरू असुरक्षित भएपछि स्थानीय बासिन्दाहरूले जिल्ला वन कार्यालय सुर्खेतमा एकहप्ता अघि जानकारी दिएका थिए । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको विज्ञ टोलीले चितुवालाई समातेको हो । खोरमै आएर बाख्रा मार्न थालेपछि बाघको आशंकामा स्थानीयले जिल्ला वन कार्यालयलाई एक हप्ता अघि जानकारी गराएका थिए । मानवीय क्षति गर्न सक्ने कुरालाई ध्यानमा राखी चितुवालाई ‘ट्रयाप’मा पारेको जिल्ला वन सुर्खेतका प्रमुख विष्टले बताए ।
समातिएको चितुवालाई व्यवस्थापनका लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाइएको छ । विज्ञ टोलीले सुरुमा वनमा क्यामरा राखी चितुवाको हिँड्ने बाटो पत्ता लगाएर ट्रयापमा पारी चितुवालाई समातिएको हो । बेहोश पारिएको चितुवालाई निकुञ्जको बीचमा लगेर छोडिने र हुँदा होश खुलेपछि त्यसले पुरानो बाटो बिर्सने बिष्टको भनाइ छ ।

प्रकाशित मितिः   ४ श्रावण २०७५, शुक्रबार १७:५०