सुर्खेतका सबै घरमा शौचालय

साझा बिसौनी संवाददाता
सुर्खेत, ३२ असार ।
सुर्खेतका शतप्रतिशत नागरिक शौचालयको पहुँचमा पुगेको क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय सुर्खेतले जनाएको छ । सोमवार जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समिति (डीवाससीसी)को बैठकमा कार्यालयले आर्थिक वर्ष २०७४/०७५ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कूल ७२ हजार आठ सय ६३ घरधुरीमा घरायसी शौचालय पहुँच शतप्रतिशत पुगेको जनाएको छ ।
कार्यालयका सिनियर डिभिजनल इन्जिनियर आविद हुशैनले घरायसी शौचालयको पहुँच शतप्रतिशत र खानेपानी सेवा उपलब्धता ९१ प्रतिशत पुगेको जानकारी दिए ।
६५ हजार नौ सय ७५ घरधुरीमा खानेपानी सेवा उपलब्ध भएको छ । यस्तै जिल्लामाका २४ स्थानमा सार्वजनिक शौचालयहरू निर्माण भएको र अझै केही स्थानहरूमा निर्माण हुने क्रम जारी रहेको उनले बताए । चालु आवमा वीरेन्द्रनगर, छिन्चु, जहरे बजार लगायतमा गरी ६ वटा सार्वजनिक शौचालय निर्माण भएको पनि उनले बताए ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देलले घरहरूमा शतप्रतिशत शौचालय निर्माण भए पनि विद्यालयहरूको अवस्था विजोग भएको बताए । विद्यालयबाटै सरसफाइको सुरुवात हुनुपर्ने उनको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सरसफाइको क्षेत्रमा काम गर्ने स्थानीय तह र गैरसरकारी संघ–संस्थाहरूले समन्वयका साथ योजनाहरू अगाडि बढाउनुपर्नेमा जोड दिए । बैठकमा वीरेन्द्रनगरको खुलामञ्चमा रहेको सार्वजनिक शौचालयमा पसल राखिएकोले सर्वसाधारणलाई शौचालय भएको ज्ञान नभएको हुँदा सबैले प्रष्ट देखिने गरी सार्वजनिक शौचालय लेख्न सम्बन्धित पक्षलाई आग्रह गर्ने, प्रत्येक स्थानीय तहले एक÷एक वटा खानेपानीको आयोजना माग गर्ने, बर्षायाममा विपद्को जोखिम बढी हुने हुँदा शतर्क रहन सचेत गराउने लगायतका सात वटा निर्णयहरू भएका छन् । बैठकमा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापा, चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, जिल्ला वन अधिकृत हेमराज विष्ट लगायतले विभिन्न सुझावहरू दिएका थिए ।

प्रकाशित मितिः   १ श्रावण २०७५, मंगलवार १३:५१