डा. केसीका मागप्रति ऐक्यबद्धता

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ असार ।
गत शनिवारदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागप्रति नेपाल चिकित्सक संघ सुर्खेत शाखाले ऐक्यबद्धता जनाएको छ । डा. केसीको पक्षमा दुई दिनदेखि कालोपट्टी बाँधेर काम गरेका मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतका चिकित्सकहरूले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै ऐक्यबद्धता जनाएका हुन् ।
विज्ञप्तीमार्फत् चिकित्सकहरूले डा. केसीको जीवनरक्षा गर्न सरकारसँग माग गरेका छन् । ‘विगत ६ दिनदेखि गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको माग राखी जुम्लामा अनशन बस्नुभएका प्रा.डा. केसीको स्वास्थ्यमा प्रतिकूल असरहरू देखापर्दै गएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘कुनै पनि समयमा अप्रिय घटना हुनसक्नेतर्फ सचेत रहँदै नेपाल सरकारलाई अविलम्ब समस्याको समाधान गर्न र डा. केसीको जीवनरक्षा गर्न संघ जोडदार माग गर्दछ ।’
डा. केसीका जायज मागप्रति ऐक्यबद्धता जाहेर गर्दै जीवन रक्षार्थ नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको समन्वयमा अझै कडा आन्दोलनको चेतावनी विज्ञप्तीमार्फत् संघले दिएको छ ।